मोरङ — नयाँ वर्ष २०८१ कसरी मनाउने, कहाँ घुम्न जाने भनेर सोच्दै हुनुहुन्छ ? नयाँ बर्ष घुम्न डुल्न र परिवारसंग रमाइलो गर्ने समय पनि हो । यतिबेलाको मौसम पनि घुम्न र डुल्न संगसंगै बसन्तका पालुवाहरू अवलोकन गर्ने उपयुक्त समय हो । त्यसैले हामी पुर्वी नेपालमा घुम्न चाहनेहरूका लागि पुर्वका प्रमुख र उत्कृष्ट पर्यटकिय स्थलहरुको बारेमा जानकारी दिँदैछौं ।
१. तिनजुरे मिल्के
पूर्वका उत्कृष्ट पर्यटकिय स्थलहरूमध्ये आन्तरिक तथा बाहिय पर्यटकहरूको आगि तिनजुरे मिल्के कोशी प्रदेशको उत्कृष्ट पर्यटकिय स्थल हो । नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छन् । यस पर्यटकिय क्षेत्रमा मात्रै २८ प्रजातिका गुरासहरू पाइने यो क्षेत्र गुरासको राजधानी भनेर पनि चिनिन्छ ।
संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा पर्ने यो क्षेत्रमा गुरासमात्रै नभएर वनै सेताम्मे पारेर फुल्ने चाँपलगायत फुलले थप सौन्दर्य बढाउँछ। खास गरेर चैतको मध्यदेखि एक डेढ महिनसम्म ढकमक्क फुल्ने गुराँसले टिएमजे दुलहीझैुं सजिएको हुन्छ ।
टिएमजेसम्म पुग्न यातायात सुविधा छ। धरानबाट धनकुटा हुँदै हिले सम्मको ६७ कि।मिको यात्रा पश्चात केही बेरमा वसन्तपुर पुग्न सकिन्छ। वसन्तपुरबाट केही किलोमिटर दुरीको टुटे देउरालीबाट टिएमजे क्षेत्र सुरु हुन्छ। तुम्लिङटार विमानस्थलबाट चैनपुर, मुढे शनिश्चरे भएर पनि टुटे देउराली पुगिन्छ।
चैनपुरबाट मादी हुँदै गए टिएमजे क्षेत्रकै मंगलबारेसम्म पनि सडक जोडिएको छ। ताप्लेजुङतर्फबाट आउने हो भने फुङ्लिङदेखि दोभान हुँदै गुफासम्म आउन सकिन्छ। टिएमजेको वसन्तपुरबाट गुफा हुँदै जोरपोखरीसम्मै कच्ची सडक बनिसकेको छ। बासका लागि भने चौकी, मंगलबारे, गुफा लगायतका साना बजारमा लजको व्यवस्था छ।
तेह्रथुम वसन्तपुरबाट सुरु हुने पदमार्गबाट टिएमजे भ्रमण गर्न सकिन्छ। त्यहाँबाट घुर्मिसे, पाँचपोखरी, फेदी, चौकी, मंगलबारे, गुफा, सुके र जोरपोखरी हुँदै ताप्लेजुङसम्म पुग्ने पदमार्गको दायाँबायाँ गुराँस देखिन्छ। पदमार्गमै भेटिने लामपोखरी, गुफापोखरीलगायत साना–ठूला पोखरी थप आकर्षण हुन्। यो क्षेत्रबाट ताप्लेजुङतर्फको कञ्चनजंघा, कुम्भकर्ण तथा संखुवासभातर्फको मकालु र चाम्लाङको दृश्यावलोकन गर्न पाइन्छ।
२. कन्याम चियाबारी
चियाबारीको हरियालीसँगै प्रेम साट्न चाहने जोडीलाई पछिल्लो समय इलामको कन्याम अब्बल गन्तव्य मानिन्छ । थुम्का–थुम्कामा छाएको हराभरा चियाबारीबीच प्रेमलापको आनन्द लिन दिनहुँ दर्जनौं जोडी चियाबारीमा भेटिने गरेका छन् । मौसममा सुधार आएपछि असोजदेखि नै वर्षातको मौसम अघिसम्म यो क्रम निरन्तर चल्छ ।
कन्यामको चिसो मौसम एकनासे सिरेटोबीच पारिलो घाम लाग्दा त्यहाँको आर्कषण नै छुट्टै हुन्छ । यहीं आनन्दमा प्रेम जोडीहरूको दिन चियाका बुट्टासँग लुकामारी खेल्दैमा बित्छ । तराईबाट गर्मी छल्न त्यहाँ आउनेहरूको संख्या धेरै हुन्छ । त्यसमा पनि तन्नेरी धेरै । चियाबारीले भरिएका हरेक डाँडाकाँडामा यस्ता जोडी भेट्न सकिन्छ ।
वनभोजका लागि पूर्वमै प्रख्यात यो स्थानले विस्तारै लभ जोडीको गन्तव्यको रूपमा समेत नाम कमाउन थालेको छ । पूर्वी तराई मात्र नभएर राजधानी र देशभरबाट पनि चियाबारीको आनन्दमा रमाउन युवा–युवती आइपुग्छन् । शनिबार कन्यामको रौनक अझ बेतोडको हुन्छ । शनिबार विदाको दिन पारेर सयौंको संख्यामा वनभोज टोली गाडी लिएर डाँडैभरी भेलिएका हुन्छन् ।
यतिसम्मकी यहाँको चहल–पहल र रमाइलोले सारा गाउँ नै गुञ्जिएको हुन्छ । अन्य दिनमा पनि भीडभाड र होहल्लाले स्थानीय कृष्णाश्रम उच्च माविको पठनपाठन नै प्रभावित हुने गरेको छ । ठूलो क्षेत्रफलमा फैलिएकाले सुटुक्क गफ गर्न र आन्तरिक कुरा साट्न कसैको अवरोध नहुने भएकाले प्रेम जोडीका लागि कन्याम लभपार्क जस्तै बन्दै गएको छ । ‘कोहीकोही बेला त चियाको बुट्टामा जोडीहरू मस्त रमाइलोमा भेटिन्छन्’–बगानका एक पालेले भने–‘त्यसबेला नदेखेझैं हुनुपर्छ ।
कन्यामसँगै करफोक, पशुपतिनगर, अन्तुलगायत क्षेत्रले पनि लभ जोडीलाई आकर्षण गर्ने क्रम बढ्दो छ । कन्याम आउनेमा युवा–युवतीकै संख्या धेरै भए पनि सबै उमेरकाको रोजाईंमा पर्ने गरेको छ । नव विवाहिता जोडीका लागि पनि सुन्दर ठाउँ देखाउने थलो बनेको छ कन्याम ।
पूर्वको केन्द्र इटहरीबाट बेलबारी , दमक , बिर्तामोड हुदै चारआली सम्मको ८१।४ किलोमिटर यात्रा पार गरिसकेपछि सुरू हुन्छ इलामको यात्रा रमाइलो डाडा काडा र हराभरा दृष्यहरू अवलोकन गर्दै झापाको चारआलीबाट ३८।४ किलोमिटर यात्रा तय गरेपछि इलामको पर्यटकिय नगरी कन्याम पुगिन्छ । भौतिक पूर्वाधार तथा यातायातका साधनहरू गुडने फराकिलो सडक भएको कारण निजि सवारी एवम साना र ठुला सवारीहरू समेत प्रयोग गरेर सो स्थान अवलोकन गर्न कसन्छ ।
३. पाथीभरा हुदै कञ्चनजंघा हिमाल
पूर्वको ताप्लेजुङ्गमा रहेको धार्मिक एवम पर्यटकीयस्थल पाथीभरा विश्वमै चर्चीत छ । चारैतिर हिमालै हिमालले घेरिएकाे यस क्षेत्रमा पाथीभरा देविकाे दर्शन गर्नकै लागि पनि वर्षेणी लाखाै भक्तजनहरूकाे भिड लाग्नेगर्छ । समुन्द्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको यो मन्दिर पुस माघमा हिउँले सेताम्य हुन्छ ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजंघा हिमाल आँखै अगाडि देख्न सकिन्छ । यहाँबाट कुम्भकर्ण हिमाल पनि देख्न सकिन्छ । पाथीभरा मन्दिरबाट ८ हजार मिटरभन्दा अग्लो अर्को मकाल हिमालु पनि देख्न सकिन्छ । यो समय मौसम सफा हुने भएकाले पनि हिमाल हेर्नलाई उपयुक्त मौसम मानिन्छ ।
पूर्वमा रहनेहरूले बिराटनगर बिमानस्थलबाट सुकेटार सम्मकाे यात्रा हवाइजहाज मार्फत जान सकिन्छ । रमणीय दृस्यहरू अवलाेकन गर्दै जाने हाे भने ताप्लेजुङ सम्म यात्रुवाहक वसहरू पाइन्छ । ताप्लेजुङको फुङलिङ बजारबाट पाथीभरा मन्दिर १९ दशमलब ४ किलोमिटरको दुरीमा छ । तर, अहिले फेदीसम्म कच्ची बाटो भएका कारण सवारी साधन अर्थात जीप जाने गर्दछ । फेदीबाट ५ घण्टाको उकालो चढेर मन्दिरमा पुगिन्छ ।
४. भेडेटार
पूर्वी शहर धरानबाट अलिकति मात्रै उकालो लाग्ने हो भने त्यहाँको मौसमले चैत–बैशाखकै प्रचण्ड गर्मीलाई पनि बिर्साइदिन्छ । त्यसैले, कुनै वहाना चाहिदैन, फुर्सद हुनासाथ धरानेहरुको पहिलो गन्तव्य हो ‘भेडेटार’ । धनकुटा जिल्ला र सुनसरीको संमस्थल भेडेटार बजार धरानबाट मात्रै १६ किलोमिटर उत्तरमा छ । चर्को घामले शिर फुट्ला झै गरी धरान तात्तिरहदा त्यहि मास्तिरको भेडेटार भने छिनछिनमा वादलको घुम्टो ओडेर लुकामारी खेलिरहेको हुन्छ ।
चिसो महसुस गर्न त्यहाँ विजुलीबाट चल्ने पंखा वा एसी चाहिन्न । यस्तो बेला कस्को मन अडिएला धरानमा फुर्सद भयो कि बच्चादेखि बुढा सम्मको गन्तब्य बनिन्छ भेडेटार । सडक एवं यातायातको सहज पहुँचले पनि सबैलाई भेडेटारले लोभ्याएको छ । खाने बस्ने राम्रो सुविधा भएको होटलहरु र आसपासमा २,४ वटा घुम्ने स्पट पनि थपिएको कारण यहाँ मनोरम प्राकृतिक दृष्य, हिमाल पडाड र तराईलाई यहाँबाट नियाल्न सकिन्छ ।’
समुन्द्री सतहबाट १४२० मिटर उचाईमा अवस्थित भेडेटार बजार धनकुटा जिल्लाको सागुरीगढी गाउपालिकामा पर्दछ । यो धनकुटा जिल्लाको प्रवेशद्धार पनि हो । धरानबाट नागवेली सडक हुदै उकालो चढ्दादेखि नै प्राकृतिक सौन्दर्यले सितलता प्रदान गर्छ, चिसो महसस हुन थाल्छ । भेडटार बजार छेउ पुगेपछि उभिएर यसो तलतिर नियाल्दा हरियाली डाँडाबीचबाट छिचोलेको नागवेली कोशी राजमार्गको सुन्दर दृष्यले मन त्यसै पुलकित हुन्छ ।
भेडेटार बजारमा मात्रै मन अडिन नमाने नजिकैको शैलुङ्ग डाँडा चाल्र्स प्वान्टमा बनेको भ्यु टावरमा चढेर तराई, पहाड र आकाश खुलेको बेला हिमश्रृंखलाको दृष्यवलोकन गर्दा हुन्छ । अझ फुर्सद छ भने किलोमिटर तलतिर सिम्सुवानमस्ते झरना पुगेर रम्न पाउदाको खुशी वयान गरी साध्यै हुन्न । भेडेटार पुगिसकेपछि अढाई किलोमिटर पूर्वको नाम्जे गाउँ र आत्मा बस्ने घर स्प्रिट अफ प्लेस० नपुगि फर्कदा मन चुकचुकाइरहनेछ ।
अमेरिकी समाचार संस्था सिएनएनले विश्वको उत्कृष्ट १२ आंै गन्तव्यमध्ये ८ औंमा राखेपछि शुरु भएको यो गाउँको चर्चा अझै सेलाएको छैन । यसबाहेक, भेडेटार नजिकैको ऐतिहासिक साँगुरी गढी, पाथीभारा मन्दिर पनि भेडेटारको पुग्नै पर्ने गन्तव्य हो । अहिले स्थानीयको पहलमा भेडेटारमा पार्क बनेको छ भने त्यहाँ बिशेष खालको शंखेश्वर मन्दिर पनि निर्माण भइसकेपछि यहाँको आर्कषण थपिइनेछ । कसरी पुग्ने इटहरीबाट धरान हुदै २२ ।६ किलोमिटरको यात्रा तय भएपछि मनोरम दृष्यहरू अवलोकन गर्ने र चिसो बाताबरणमा रमाउने स्थान भेडेटार पुगिन्छ । भौतिक पूर्वाधार तथा यातायातका साधनहरू गुडने फराकिलो सडक भएको कारण निजि सवारी एवम साना र ठुला सवारीहरू समेत प्रयोग गरेर सो स्थान अवलोकन गर्न कसन्छ ।
५. तालतलैया
सुनसरी जिल्लाको इटहरीमा अवस्थित तालतलैया सिमसार क्षेत्र पनि पूर्वको प्रमुख पर्यटकिय स्थलहरू मध्येमा मानिन्छ । पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरुको प्रमुख रोजाईको गनतब्य बन्न थालेको छ । सो स्थानमा दैनिक ३ सयदेखि ५ सय सम्म मानिसहरु पुग्ने गरेका छन भने बनभोज र बिदाको समयमा यो संख्या तेब्बर सम्म हुने गरेको छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण सो क्षेत्रको सौन्र्दयताले कस्लाई पो मख्ख नपार्ला र ?
६. गुफापोखरी
धनकुटाबाट करीब ५० किलोमिटर कालोपत्र सडक छिचोलेपछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । त्यहा“बाट उत्तर देउरालीसम्मको ५ किमी कच्ची सडकको यात्रापछि करीब ५ घण्टा गुराँसे वनको अवलोकन गर्दै पैदल यात्रा गरेपछि गुफापोखरी पुगिन्छ । मूलतः यहा“ विभिन्न प्रजातिका गुराँस तथा अन्य जैविक विविधता अवलोकन गर्न जानेहरू हुन्छन् । संखुवासभाको नुनढाकी–९ मा गरेको गुफापोखरी समुद्री सतहबाट २ हजार ८९० मिटर उचाइमा पर्छ ।
७. माईपोखरी इलाम
सदरमुकामदेखि १३ किलोमिटर उत्तरमा माइपोखरी अवस्थित छ । माइपोखरीमा रैथाने गलैंचे झ्याउ, रूख भ्यागुतो, ठकठके जस्ता दुर्लभ जन्तु र वनस्पति पाइन्छ । यस्तै ३०० भन्दा बढी प्रजातका चरा पाइने विज्ञहरू बताउँछन् । २ हजार १२१ मिटरको उचाइमा रहेको माईपोखरीमा दुई हेक्टर जलाशय सहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिएको छ । माईपोखरीमा होटलहरू खुलेका छन् । १ किलोमिटर टाढाको देउराली बजार पुगेर होटलमा बस्न सकिन्छ ।




















