काठमाडौं — नेपाली कांग्रेसका फरार सांसद धनबहादुर केसी उर्फ डीबी कारागार चलान भएका छन् । रुकुमपूर्व १ (२) बाट निर्वाचित कांग्रेस सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान भएका हुन् । उनले ३३ वर्ष पुरानो मुद्दामा आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् ।

सम्बन्ध विच्छेदको मुद्दामा नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो ।

२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् । श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । उनलाई कारबाही नभएको भन्दै चर्को विरोध हुँदै आएको थियो ।