विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिकाको पन्ध्रौं हिउँदे नगरसभा मंगलबार सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा नगर प्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको नगरसभाले ५ वटा विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।
यी हुन् नगरसभामा पारित भएका विधेयकहरू:
- विनियोजन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक
- आर्थिक ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक
- न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि सम्बन्धी विधेयक, २०८१
- न्यायिक समितिको फैसला तथा मिलापत्र कार्यान्वयन विधेयक, २०८१
- सहकारी ऐन, २०७५ लाई दोस्रो पटक संशोधन गर्न बनेको विधेयक
सरकारी तथा अर्थ विधेयक अन्तर्गत पर्ने विनियोजन ऐन र आर्थिक ऐनका विधेयकहरू नगरपालिकाका उप-प्रमुख अकली चौधरीले टेबल गरेकी थिइन् भने । अन्य विधेयकहरू विधायन समितिका संयोजक खेमप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए ।
पारित विधेयकहरू नगर प्रमुख केदारप्रसाद गुरागाईंद्वारा प्रमाणीकरण भई नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित भएपछि लागू हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए।
सुन्दरहरैँचा नगरपालिकाको यो पहल स्थानीय तहमा जनहितका कामलाई प्राथमिकतामा राख्दै प्रशासनिक एवं न्यायिक व्यवस्थामा सुधार ल्याउन गरिएको एक सकारात्मक कदम हो।



















