काठमाडौं—पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताएकी छन्।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले एमाले आफ्नो लामो समयसम्मको राजनीतिक यात्राको हिस्सा भएको उल्लेख गरिन्। उनले भनेकी छन्, “मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनुपर्छ र? राष्ट्रपति हुनुअघि नै, संगठित सदस्यता नलिएको बेलादेखि नै पार्टीमा काम गर्दै आएको हुँ। चिनजान पनि ठूलो छ। नेताहरूले कार्यक्रममै बोलाउनु स्वाभाविक हो।”

उनले समाजसँग साक्षात्कार गर्न, जनताको विचार र आकांक्षाबारे बुझ्न र नयाँ पुस्ताका अपेक्षाहरू पूरा गर्न लाग्नुपर्ने आफ्नो धारणा व्यक्त गरिन्।

“राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी सबै लाग्नुपर्छ। यो हाम्रो कर्तव्य हो। त्यसका लागि नयाँ पुस्ताका लागि र देशका लागि संघर्ष गर्नुपर्छ,” उनले भनिन्।

विद्या भण्डारीले आफ्नो सामाजिक र राजनीतिक गतिविधिका लागि एमालेको कुनै पनि कमिटी वा नेताहरूको अनुमति आवश्यक नभएको स्पष्ट पारेकी छन्।