काठमाडौं — नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजिनामा माग्ने पदाधिकारीबारे केन्द्रीय सदस्य लक्ष्मी गौतमले धारणा राखेकी छिन्।

सुनसरीबाट प्रतिनिधित्व गर्ने गौतमले केन्द्रीय सदस्यहरुलाई सोधेकी छिन्, “केही पदाधिकारीहरूले सचिवालय बैठकमा अध्यक्षको राजिनामा मागेको कुरा हामीले सुनेका छौं। तपाईंहरू दुई पटक पदाधिकारी भइसकेको अवस्थामा तपाईंहरूको राजिनामा हामीले माग्यौं भने दिनुहुन्छ?”

गौतमले थप भनिन्, “एक वर्ष बाँकी कार्यकाल रहेको पार्टी केन्द्रीय कमिटीमा कसैले राजिनामा मागेको भरमा महाधिवेशन गर्न हतारिनु आवश्यक छैन। हाम्रो कार्यकाल अझै बाँकी छ।”

त्यसैगरी केन्द्रीय सदस्य रोमनाथ ओलीले पार्टीमा विवाद सिर्जना गर्न अहिले समय नभएको बताएका छन्। उनले भने, “पार्टी र नेतृत्व संकटमा छ। यसैबेला राजिनामा माग्ने उचित समय होइन। नेतृत्वको चयनका लागि महाधिवेशन घोषणा भइसकेको छ, त्यही अनुसार छलफल गरौँ।”

ओलीले केन्द्रीय कमिटीमा छलफल भए पनि कार्यकर्ता र जनताका वास्तविक गुनासो पूर्ण रूपमा पुगेको छैन भनी बताए। “कार्यकर्ता र जनताको गुनासो सुन्ने अभियान पार्टीले घोषणा गर्नु आवश्यक छ,” उनले भने।