विराटचोक—मोरङको सुन्दरहरैंचामा पहिलोपटक अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ। “लागुऔषधले लिन्छ ज्यान, गछिया युवा समाजको आह्वान— स्वस्थ रहन खेलकुदमा ध्यान” भन्ने नारा सहित गछिया युवा समाज मोरङले बिहीबार एसएस क्याफेमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको घोषणा गरेको हो।

खेल संयोजक प्रलाद थोप्रा लिम्बुका अनुसार युवालाई खेलकुदमा आकर्षित गर्ने, लागुऔषध दुरुपयोग रोकथाम गर्ने र सामाजिक चेतना फैलाउने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको हो। प्रतियोगिता मंसिर १५ देखि २२ गतेसम्म सञ्चालन हुनेछ।

गोल्डकपमा भारतको पश्चिम बंगाल (दार्जिलिङ) सहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिममा सहलेश फुटबल क्लब सिरहा, दमक फुटबल एकेडेमी, झापा बेलबारी फुटबल क्लब, जलथल फुटबल क्लब झापा, गाईघाट युनाइटेड उदयपुर, राष्ट्रिय जागृती फुटबल क्लब सुनसरी, लिजेण्ड फुटबल एकेडेमी पश्चिम बंगाल–दार्जिलिङ (भारत) र आयोजक गछिया युवा समाज मोरङ रहेका छन्।

विजेता टिमले रु. २ लाख १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १ लाख १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। म्यान अफ द सिरिजलाई रु. २५ हजार र उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा राइजिङ प्लेयरलाई जनही रु. ११ हजार दिइनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५,१०० रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिताको विशेष दिनमा सुन्दरहरैंचाका प्रत्येक वडाबाट एकजना ज्येष्ठ नागरिकलाई सम्मान तथा एक पुरुष र एक महिलालाई ह्विलचेयर वितरण गरिने बताइएको छ।

प्रतियोगितालाई सफल बनाउन करिब २८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। सुन्दरहरैंचा नगर खेलकुद विकास समितिले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता आयोजनाले नगरको खेलकुद स्तर उकास्ने विश्वास व्यक्त गरेको छ।