विराटनगर— मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान करिब ६ः३० बजे अस्पताल परिसरभित्र गम्भीर घाइते अवस्थामा फेला परेका ती डाक्टरलाई उपचारका लागि नोबेल मेडिकल कलेजको इमर्जेन्सीमा लगिएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा बिहान ७ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो।

प्रारम्भिक चरणमा मृतकको पहिचान खुल्न नसके पनि थप अनुसन्धानपछि मृतक सप्तरी जिल्ला राजविराज नगरपालिका–९ जगदरीका ३४ वर्षीय अमित यादव रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यादव सोही नोबेल मेडिकल कलेजमा १०औँ ब्याचका एमबिबिएस इन्टर्न डाक्टरका रूपमा अध्ययनरत थिए। मृतकका बाबु शम्भु प्रसाद यादवका अनुसार उनी चिकित्सकको सल्लाहअनुसार केही समयदेखि औषधि सेवन गर्दै आएका थिए।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।