काठमाडौं—प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसूचीमा परेकी गायिका तथा चिकित्सक डा.त्रिशला गुरुङले उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेकी छन् । उनी उज्यालो नेपाल पार्टीको कोटाबाट आदिवासी जनजाति महिलाकाे क्लस्टरमा समावेश थिइन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिनु सम्मान र जिम्मेवारीको विषय भएको उल्लेख गरेकी छन् । तर, गहन आत्ममूल्यांकनपछि राजनीतिक उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेको उनकाे भनाइ छ ।

गुरुङका अनुसार यो निर्णय कुनै असन्तुष्टि वा अस्वीकार होइन, बरु आफ्नो पेशागत जिम्मेवारीप्रतिको प्रतिबद्धता र दीर्घकालीन सामाजिक योगदानको मार्ग रोजाइ हो ।

‘कला र स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने मेरो दृढ संकल्प नै यस निर्णयको मूल कारण हो ।’ उनले लेखेकी छन् ।

डा.गुरुङले पार्टी नेतृत्वले देखाएको विश्वास, सम्मान र समर्थनप्रति आभार व्यक्त गर्दै त्यो भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता पनि जनाएकी छन् । राजनीतिक पदमा नरहे पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा सक्रिय रहने उनको भनाइ छ ।

डा.गुरुङले अन्त्यमा पार्टीको भावी यात्राका लागि शुभकामना दिँदै लोकतान्त्रिक अभ्यास र समावेशी प्रतिनिधित्वको प्रयास सफल होस् भन्ने कामना गरेकी छन् ।

गुरुङको नाम रास्वपाको बन्दसूचीको १९ नम्बरमा रहेको छ । आदिवासी जनजातितर्फ महिलाको पाँचौ नम्बरमा उनको नाम छ ।

रास्वपाको बन्दसूचीमा आदिवासी जनजातितर्फ ९ नम्बरमा नाम रहेका टासी लाक्पा शेर्पाले पनि यसअघि नै आफूले बन्दसूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

बिहीबार मात्रै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू दलगत राजनीतिमा रुचि नराख्ने भएकाले बन्दसूचीबाट नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘आगामी निर्वाचनमा सम्पूर्ण राजनीतिक दल तथा योग्य उम्मेदवारहरूलाई विशेष शुभकामना व्यक्त गर्दछु । मलाई पनि प्रतिनिधि सभा सदस्यको लागि समानुपातिकमा मेरो नाम छनोट गर्नु भएकोमा धन्यवाद ।

तर म दलगत राजनीतिमा रुचि नराख्ने भएकाले मेरो नाम सूचीबाट फिर्ता लिन चाहन्छु र म सधैं मेरो देशको उन्नतिका लागि आफ्नै तरिकाले सहयोग गर्न प्रतिबद्ध रहनेछु र म एक साधारण नागरिकको रूपमा, आफ्नो कर्ममार्फत देशको लागि सक्दो योगदान दिनेछु ।