काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक्लाएक्लै भेटवार्ता भएको छ।

आइतबार साँझ भारतको दिल्ली प्रस्थान गर्नुअघि संयोजक प्रचण्डसँग एमाले अध्यक्ष ओलीले करिब २५ मिनेट एकान्त भेटवार्ता गरेका हुन्। प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार च्यासलस्थित एक घरमा उक्त भेट भएको हो।

‘उहाँहरूबीच च्यासलमा करिब २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको छ,’ आचार्यले भने, ‘समसामयिक राजनीतिक अवस्था र चुनावी वातावरण कसरी बनाउने भन्ने विषयमा कुराकानी भएको हो।’

दुई नेताबीच शनिबार बिहान नै भेट गर्ने कार्यक्रम तय भए पनि प्रचण्ड संखुवासभाबाट फर्कन ढिला भएपछि भेटवार्ता आइतबारका लागि सरेको थियो।

भेटमा राष्ट्रिय सभा निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहकार्यका सम्भावनाबारे छलफल भएको बताइएको छ। यद्यपि भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

संयोजक प्रचण्ड आइतबार साँझ भारतको दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ।