काठमाण्डौ — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया नेकपा (एमाले) प्रवेश गरेका छन्।

शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत उच्च तहका नेताहरूले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

कनौडियालाई कपिलवस्तु-३ बाट आगामी प्रतिनिधि सभाको निर्वाचनमा एमालेबाट उम्मेदवार बनाउने गरी अध्यक्ष ओलीले टिकट प्रदान गरेको जानकारी प्रेस चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेतले फेसबुकमार्फत दिएका छन्।

कनौडिया लुम्बिनी प्रदेशसभाका पूर्वसांसद हुन् र अघिल्लो संसदमा प्रदेश संसदीय दलका नेता समेत रहेका थिए।

उनले २०७४ मा कपिलवस्तु-३ (ख) बाट प्रदेशसभा चुनाव जितेका थिए। त्यसपटक उनले ६ हजार ३०७८ मत प्राप्त गरी वाम गठबन्धनका उम्मेदवार जावेद आलम खानलाई पराजित गरेका थिए।

कनौडिया चिनी मिल र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक समेत हुन्। उनी २०५८ सालमा जलस्रोत सहायक मन्त्री पनि बनेका थिए।