काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद उम्मेदवार रिमा विश्वकर्माले चुनावी प्रचारप्रसारका क्रममा दिएको एक अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रोल बनेको छ।
स्याङ्जामा आयोजित चुनावी सभामा बोल्दै विश्वकर्माले त्यहाँका मतदाताले बहुमतका साथ रास्वपाका उम्मेदवारलाई विजयी गराए चुनावपछि पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई स्याङ्जा ल्याउने वाचा गरेकी थिइन्।
‘म यहाँहरूलाई यसै ठाउँबाट एउटा वाचा गर्न चाहन्छु। स्याङ्जा निर्वाचन क्षेत्र नं १ र २ बाट तपाईंहरूले हामीलाई बहुमतका साथ विजयी गराउनुभयो भने पार्टीका सभापति रवि लामिछाने र देशका प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई स्याङ्जामा ल्याउने वाचा अहिले नै गर्छु,’ उनले भनेकी थिइन्।
उनको यही अभिव्यक्तिको भिडियो क्लिप सोमबारदेखि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ र विभिन्न टिप्पणीसहित ट्रोल बनिरहेको छ। ट्रोल बढेपछि विश्वकर्माले आफ्नो भनाइलाई गलत तरिकाले अर्थ्याइएको प्रतिक्रिया दिएकी छन्।
विश्वकर्मा यसअघि उज्यालो नेपाल पार्टीमा आवद्ध थिइन्। उज्यालो–रास्वपा एकीकरणपछि उनी रास्वपामा प्रवेश गरेकी हुन्। एकीकरणपछि कुलमान घिसिङ १२ दिनमै अलग्गिए पनि विश्वकर्मा भने रास्वपामै सक्रिय रहिन्। उनी रास्वपाको समानुपातिक सांसद उम्मेदवारतर्फ दलित क्लस्टरबाट कुलमान घिसिङकै कोटाबाट महिलातर्फको प्रारम्भिक सूचीमा परेकी छन्।



















