काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत भदौ २४ गते काठमाडौंमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा संसद् भवनभित्र प्रवेश गरी तोडफोड र आगजनीमा संलग्न रहेको व्यक्ति नै आगामी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको खुलासा भएको छ।

रास्वपाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ बाट कृष्णकुमार कार्कीलाई उम्मेदवार बनाएको हो। कार्की भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रवेश गरी विध्वंस मच्चाउने समूहका मुख्य व्यक्तिमध्ये एक रहेको पुष्टि भएको छ।

मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की करिब १२ वर्ष वैदेशिक रोजगारीका सिलसिलामा जापानमा बसेका व्यक्ति हुन्। केही समयअघि मात्र नेपाल फर्किएका कार्कीले आफू संलग्न घटनाका तस्वीर र विवरण सामाजिक सञ्जालमै सार्वजनिक गरेका छन्। उनका फेसबुक पोस्ट र तस्वीरहरूमा संसद् भवनभित्र कुर्सी थुपारेर आगो लगाइएको देखिन्छ।

भदौ २५ गते कार्कीले फेसबुकमा लेख्दै संसद् भवनको कुर्सी जलाएको र नेताहरूको घरसम्म पुगेर आगजनी गरिएको स्वीकार गरेका थिए। उनले लेखेका छन्, “हामी संसद् भवन प्रवेश गर्‍यौं। भित्र पुराना कुर्सी जम्मा गरेर आगो बाल्यौं र खुसीयाली मनायौं। नेताको घर मात्र हाम्रो टार्गेट थियो।” साथै बालाजुदेखि सिंहदरबारसम्म गरिएको विध्वंसको जिम्मेवारी ‘जेनजी’ आन्दोलनले लिने समेत उनले उल्लेख गरेका छन्।

चासोको विषय के छ भने, आज जसको टिकटमा कार्की उम्मेदवार बनेका छन्, केही महिनाअघि सम्म उनी सोही पार्टी नेतृत्वका कटु आलोचक थिए। जापानमा रहँदा उनले रास्वपा सभापति रवि लामिछानेलाई ‘अमेरिकी र सहकारी ठग’ भन्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गर्दै आएका थिए।

गत अप्रिल १ गते उनले लेखेका थिए, “सोझा–सिधा जनतालाई भ्रममा पारेर सहकारी ठगी गर्ने अमेरिकीलाई म टुलुटुलु हेरेर बस्न सक्दिनँ।” संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि पनि उनले लामिछानेलाई दोषी ठहर गर्दै, आफू शक्तिमा पुगे सहकारी ठगीमा संलग्न सबैलाई जेल पठाउने चेतावनी दिएका थिए।

त्यति मात्र होइन, कार्कीले रास्वपाकी नेतृ तथा उपसभामुख इन्दिरा राना मगरमाथि समेत मानव तस्करीको आरोप लगाउँदै रास्वपा पुराना दलहरू जस्तै लुटतन्त्रमा लागेको दाबी गरेका थिए।

यसअघि मोरङ क्षेत्र नम्बर २ बाट रास्वपाका तर्फबाट ठगेन्द्र न्यौपाने उम्मेदवार रहने चर्चा थियो। स्थानीय कार्यकर्ताहरूबीच उनको नाम अघि बढिरहेको अवस्थामा अन्तिम समयमा कृष्णकुमार कार्कीले टिकट पाएपछि पार्टीभित्रै असन्तुष्टि चुलिएको बताइएको छ।