काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेल आज (आइतबार) जापानको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दैछन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ बाट आज राति ११:३० बजे जापान प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी उनी माघ २१ गते अपराह्न ४:३० बजे स्वदेश फर्कने कार्यक्रम छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन्। माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने तथा सोही दिन जापानकी प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यसका साथै जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग शिष्टाचार भेट, जापानी व्यावसायिक समुदायसँग बैठक तथा जापानस्थित नेपाली राजदूतावासद्वारा आयोजना गरिने स्वागत समारोहमा पनि राष्ट्रपति पौडेल सहभागी हुनेछन्। भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी हुनेछन्।
नेपाल–जापान सम्बन्ध मित्रता, सद्भाव र विकास सहयोगमा आधारित रहँदै आएको छ। जापानले सन् १९५४ देखि नेपालका पूर्वाधार, ऊर्जा, शिक्षा, स्वास्थ्य र मानव संसाधन विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ।



















