विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित श्री जनचेतना सामुदायिक वन उपभोक्ता समूहमा काठ निकासी तथा बिक्री वितरणमा गम्भीर अनियमितता भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुन्दरहरैँचा नगर समितिले छानबिनको माग गरेको छ।

नगर सभापति टेकमणि न्यौपाने (बिबेक)ले जारी गरेको विज्ञप्तिमा वन उपभोक्ता समूहका अध्यक्षद्वारा “दाउरा बिक्री” भएको भनिए पनि वास्तविक रूपमा अवैध काठ (गोलिया) मिलसम्म पुर्‍याइएको तथ्य सार्वजनिक भएको उल्लेख गरिएको छ। यसले पारदर्शिता, सुशासन र जनविश्वासमाथि गम्भीर प्रश्न उठाएको समितिको भनाइ छ।

समितिले घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन, दोषीमाथि कानुनी कारबाही, तथा सामुदायिक वन व्यवस्थापनमा पारदर्शिता र प्रभावकारी निगरानी प्रणाली सुदृढ गर्नुपर्ने माग गरेको छ।

रास्वपा नगर समितिले सम्बन्धित निकायलाई सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै सुशासन र जनहितका पक्षमा दृढ रहने प्रतिबद्धता जनाएको छ।

bd00c48c-4ce3-49ec-9632-68088c80967c

यसैबीच, स्थानीय उपभोक्ताहरूको गोप्य सूचनाका आधारमा सव डिभिजन वन कार्यालय सलकपुरले केही दिनअघि ४ ट्याक्टर काठको गोलिया नियन्त्रणमा लिएको छ।

मंगलबार कार्यालयले पत्रकार सम्मेलन गर्दै सुन्दरहरैँचा–१२ स्थित मनकामना स मिल र सुन्दरहरैँचा–९ स्थित सफल स मिलमा छापा मारेर उक्त काठ नियन्त्रणमा लिएको जानकारी दिएको हो।

Untitled design (3) 22श्री जनचेतना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिताराम पाण्डेमाथि काठ निकासी तथा बिक्री वितरणमा अनियमितता गरेको आरोप लागेको छ। स्थानीय उपभोक्ताहरूले अध्यक्ष पाण्डेको मिलेमतोमा वन क्षेत्रबाट काठको गोलिया चोरी–निकासी भइरहेको आरोप लगाउँदै आएका छन्।

तर अध्यक्ष पाण्डेले भने आफूले कानुनसम्मत रूपमा २ ट्याक्टर दाउरा मात्र बिक्री गरेको दाबी गर्दै आएका छन्। तर सोही दाबी विपरीत ठूलो परिमाणमा काठ बरामद भएपछि वन कार्यालयले छानबिन अघि बढाएको हो।

सव डिभिजन वन कार्यालय सलकपुरका सहायक वन अधिकृत विजय प्रजाले घटनाको पुष्टि गर्दै दोषीलाई कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता जनाएका छन्। बरामद गरिएको काठ हाल वन कार्यालयको नियन्त्रणमा राखिएको छ।