काठमाडौं—सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल अत्यन्तै फितलो र कर्मकाण्डी देखिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल चलिरहँदा अधिकांश कुर्सी खाली देखिए । 

प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हिजो नीति तथा कार्यक्रम छलफलका लागि पेश गरेका थिए । त्यसमाथि छलफल र प्रधानमन्त्रीको जवाफका लागि कार्यसूची निर्धारण भएकोमा अहिले छलफल चलिरहेको छ । विपक्षी दलका सांसदहरुले संशोधन प्रस्ताव पेश गरिरहेका छन् ।

तर, संशोधन प्रस्ताव पेश भैरहँदा सत्ता पक्षको सहभागिता न्यून देखिन्थ्यो भने रास्वपाका केही सांसदहरू एक-आपसमा कुरा गरिरहेका थिए । केही सांसदहरू बिचैमा उठेर हिंडिरहेको दृश्य पनि देखियो । 

नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले यसप्रति असन्तुष्टि जनाउँदै अर्थपूर्ण छलफलको आवश्यकतामाथि जोड दिए । आफूले संशोधन प्रस्ताव पेश गरिरहँदा सत्ता पक्षका जिम्मेवार सांसद र सरकारका मन्त्रीहरू बैठकमा अनुपस्थित रहेकोमा गुनासो गरे ।

'मलाई लागेको थियो, मैले बोल्दाखेरि सत्ता पक्षका जिम्मेवार माननीयहरु मैले भनेका कुरालाई सुन्नुहुनेछ । तर, मैले अपेक्षा गरेअनुसार सिट भरिएको छैन', हमालले असन्तुष्टि जनाउँदै भने । 

वैशाख २८ गते राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरिरहँदा वीचैमा बाहिरिएका प्रधानमन्त्री बालेन्द्र साह त्यसपछिका बैठकमा सहभागी भएका छैनन् । यसले संसदीय व्यवस्थाकै अपमान गरेको भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् । 

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन माग गर्दै विपक्षी दलले हिजो प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका थिए । प्रधानमन्त्रीको यो व्यवहारले नीति तथा कार्यक्रमकै औचित्यमाथि पनि प्रश्न उठिरहेका बेला छलफलको चरणसम्म आइपुग्दा झनै कर्मकाण्डी देखिएको हो । 

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा संसदीय अभ्यासमा आफूहरूले नयाँ मानक स्थापित गरेको रास्वपाको दावी थियो । तर, अहिले झन्डै २ तिहाइको हैसियतमा रहेको सो पार्टीका सांसदहरू संसदीय मर्यादामा नबसेको भन्दै आलोचना भैरहेको छ । 

संसदमा प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिलाई लिएर उठेका प्रश्नको समेत रास्वपाले उचित जवाफ दिन नसकिरहेको स्थिति छ । 

- जन आस्था