काठमाडौं — नेकपा (एमाले) की नेतृ उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीमाथि सार्वजनिक रूपमा प्रश्न उठाएकी छन्। पार्टीभित्र नेतृत्व परिवर्तन र निर्वाचन समीक्षाबारे बहस चलिरहेका बेला उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
तिम्सेनाले पार्टीभित्र अध्यक्ष ओलीको बलियो पकड रहे पनि जनसमर्थन भने घट्दै गएको दाबी गरेकी छन्। उनले लेखेकी छन्, “पार्टीभित्र कमरेड ओलीको पकड झन्डै ९० प्रतिशत थियो। तर आमजनताको अभिमतमा के भयो? ओलीको नेतृत्वमा एमाले कसरी ओरालो लाग्यो भन्ने कुरा मुख्य हो।”
उनले विधान वा संविधानले सामाजिक र राजनीतिक वैधताको सीमाभित्र मात्र काम गर्ने उल्लेख गर्दै कुनै पनि व्यवस्था सार्वजनिक स्वीकृतिमा टिक्ने बताएकी छन्। गत फागुन २१ मा नागरिकहरूले वर्तमान प्रवृत्तिलाई सार्वजनिक रूपमा अस्वीकार गरिसकेको दाबी गर्दै उनले एमालेभित्र अहिले भइरहेको बहस र आन्तरिक प्रयास स्वाभाविक भएको टिप्पणी गरेकी छन्।
नेतृत्वको कमजोरीका कारण पार्टी कमजोर बन्दै गएको संकेत गर्दै तिम्सेनाले एमाले पंक्तिलाई आत्मसमीक्षा गर्न आग्रह गरेकी छन्। उनले अन्त्यमा लेखेकी छन्, “एमालेजनहरूको यो अन्तिम र एक मात्र विकल्प हो— ओली रोज्ने कि एमाले?”


