धरान । धरानको सांगीतिक माहोल पछिल्लो समय रक र पप संगीतले निकै तताइरहेको छ। विभिन्न ब्यान्डका लाइभ कन्सर्टमा रमाउने धराने दर्शकका लागि यसपटक भने केही फरक सांगीतिक स्वाद थपिने भएको छ। लोकभाका, दोहोरी, आधुनिक गीतदेखि अहिलेको पुस्ताले रुचाउने सांगीतिक प्रस्तुतिसम्म एउटै मञ्चमा समेट्ने गरी ‘सुरताल म्युजिकल टूर’ धरान आउँदैछ।
मङ्सिर २५ गते शुक्रबार हुने इभेन्ट धरान रंगशालामा हुनेछ। जसमा लोकप्रिय गायक प्रमोद खरेल, प्रकाश सपूत र फिरन्ते ब्यान्ड पहिलोपटक एउटै स्टेजमा प्रस्तुत हुनेछन्। फरक सांगीतिक विधा र आ–आफ्नै पहिचान बनाएका यी कलाकारको एउटै मञ्चमा हुने प्रस्तुतिले धरानका संगीतप्रेमीलाई फरक अनुभव दिने अपेक्षा गरिएको छ।
प्रमोद खरेलले ‘ओइ झुमा’, ‘मबिना कसै कसैलाई’, ‘म बाँचे कै तिमीसँग’ र ‘यो कुरा गोप्य’ जस्ता लोकप्रिय गीतमार्फत दर्शकलाई आधुनिक तथा प्रेमिल संगीतमा रमाउने अवसर दिनेछन्। त्यस्तै, प्रकाश सपूतका ‘गलबन्दी’, ‘बोल माया’, ‘पीर’ र ‘सकम्बरी’ जस्ता गीतले लोकलय र कथात्मक प्रस्तुतिको स्वाद दिनेछन्। फिरन्ते ब्यान्डका ‘बूढो भैयो’, ‘मनभरी माया छ’ र ‘मुस्कान बनी ओठमा आइदेऊ’ लगायतका गीतले कार्यक्रममा थप रौनकता थप्नेछन्।
आयोजकका अनुसार धरानमा पछिल्लो समय रक–पप ब्यान्डका कन्सर्ट बढी भइरहेका बेला लोक, आधुनिक र नयाँ पुस्ताले रुचाउने संगीतलाई एउटै मञ्चमा जोड्ने प्रयास गरिएको हो। साथै, यसअघि कन्सर्टको टिकट महँगो भएको गुनासोलाई ध्यानमा राख्दै यसपटक प्रतिव्यक्ति ३०० रुपैयाँ र दुईवटा टिकट ५०० रुपैयाँमै उपलब्ध गराउने व्यवस्था गरिएको छ। टिकट इसेवामार्फत खरिद गर्न सकिनेछ।
यसरी आधुनिक गीतमा रमाउनेदेखि लोकभाकामा झुम्ने र ब्यान्डको प्रस्तुतिमा नाच्ने दर्शकसम्मलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित सुरताल म्युजिकल टूर धरानमा आयोजना हुन लागेको हो।


