ललितपुर/ ललितपुरको लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पसको चार आना तीन पैसा जग्गा व्यक्तिको जग्गामा घुसाएको आरोपमा नापीका कर्मचारीसहित पाँचजनाविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका तीन कर्मचारी, मच्छिन्द्र क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख तथा जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नापी कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख (नापी अधिकृत) भरतसिंह ऐर, तत्कालीन सर्वेक्षक केशवनाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेशकुमार केसी, नमुना मच्छिन्द्र क्याम्पस लगनखेलका तत्कालीन क्याम्पस प्रमुख नारायणदास श्रेष्ठ र जग्गाधनी मञ्जुतारा शाक्यविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा मूल नक्सामा रहेको साबिक कित्ताको आकारप्रकार परिवर्तन गरी छुट्टै फाइल नक्सा बनाई चार आना तीन पैसा जग्गा शाक्यको जग्गामा घुसाउने काम भएको थियो । जसमा क्याम्पस प्रमुखको समेत मिलेमतो रहेको आयोगको ठहर छ ।
जग्गाको सरकारी मूल्यांकनअनुसार १७ लाख ८१ हजार दुई सय ५० रुपैयाँ बिगो कायम गरी उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छ । जग्गाधनी शाक्यले नापी कार्यालय, ललितपुरका कर्मचारीलाई अनुचित प्रभावमा पारी सो काम गराएको आयोगको अनुसन्धानमा खुलेको छ । सो जग्गा क्याम्पसकै नाममा फर्काउन समेत आयोगले लेखिपठाएको छ । नयाँ पत्रिका दैनिकबाट



















