जनकपुरधाम— ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य हरि ढकाल नेतृत्वको कार्यक्रममा पुगेपछि पक्राउ पर्नबाट जोगिएको प्रहरीले जनाएको छ।
जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा आयोजित रास्वपाको कार्यक्रममा ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त मनरा सिस्वा नगरपालिका–२ का रोमन प्रताप सिंह ‘रोमन’ सहभागी भएका थिए।
रोमन कार्यक्रममा रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष टोली उनलाई नियन्त्रणमा लिन पुगेको थियो। तर, रास्वपाका कार्यकर्ताले प्रहरीलाई अवरोध गर्दै नाराबाजी गरेपछि उनलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी श्याम सारु मगरले प्रहरी टोली पुग्दा कार्यकर्ताको हुलहुज्जत र अवरोधका कारण रोमन उम्किन सफल भएको पुष्टि गरे। उनका अनुसार रोमन त्यहाँबाट फरार भएका छन् र हाल प्रहरीले उनको खोजी तीव्र पारेको छ।
प्रहरी निरीक्षक विश्वभरनाथ साहका अनुसार प्राप्त विशेष सूचनाका आधारमा रोमनलाई पक्राउ गर्न टोली परिचालन गरिएको थियो, तर कार्यकर्ताको अवरोधका कारण नियन्त्रणमा लिन सम्भव भएन।
प्रहरी स्रोतका अनुसार रोमनलाई पक्राउ गर्न प्रहरी आएको थाहा पाएपछि समर्थकहरूले होहल्ला गरेका थिए। विवाद चर्किएपछि सांसद ढकालसहितका नेता–कार्यकर्ता हलबाट बाहिरिएका थिए र सोही भीडको फाइदा उठाउँदै रोमन पनि त्यहाँबाट निस्किएका थिए।
प्रहरी स्रोतले सांसद ढकालले ‘सँगै हिँड रोमन’ भनेपछि उनीसँगै बाहिरिएका रोमन त्यसै क्रममा फरार भएको दाबी गरेको छ। यद्यपि, यस घटनाबारे सांसद ढकालको पक्षबाट आधिकारिक प्रतिक्रिया आइसकेको छैन।
रोमनविरुद्ध गत जेठ १७ गते मनरा सिस्वा नगरपालिकामा सम्पन्न रास्वपा नगर अधिवेशनका क्रममा भएको झडपलाई लिएर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको थियो। नेतृत्व चयनको विषयमा दुई पक्षबीच भएको उक्त झडपमा सतीशकुमार कापरसहित पाँच जना घाइते भएका थिए। तीमध्ये सतीश कापर र गोविन्द कापर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइते सतीश कापरको जाहेरीका आधारमा रोमनविरुद्ध मुद्दा दर्ता भएको हो। महोत्तरी जिल्ला अदालतले गत साउन ४ गते रोमनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिँदै पक्राउ पुर्जी जारी गरेको थियो।
रास्वपाले मधेश प्रदेशमा देखिएका समस्या तथा पार्टीको साङ्गठनिक अवस्था अध्ययन गर्न सहमहामन्त्री ढकाललाई विभिन्न जिल्लामा ‘पार्टी अडिट’ का लागि खटाएको छ। सोही सिलसिलामा उनी महोत्तरीको कार्यक्रममा सहभागी हुन पुगेका थिए। जनता टाइम्स डटकमबाट


