यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन्।
चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ। तर, घाम उदाएपछि सुक्छ।
‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका वरिष्ठ पत्रकार विष्णुमणि खनालले अनुभव सुनाए, ‘पानी आइहाले पनि सुक्खामौसममा सुकेर जान्छ।’
धनुषाको पूर्वपश्चिम राजमार्गमा पाँचवर्ष पहिले ५०–६० फिटमा पानीको सतह पाइन्थ्यो।
अहिले सोही स्थानमा १०० फिटमा समेत पानी भेट्टाउन मुस्किल हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जलेश्वरका इन्जिनियर विजय यादव बताउँछन्। ‘वैज्ञानिक कारण त अनुसन्धानबाट पत्ता लाग्ने विषय हो। सरसर्ती हेर्दा पानी रिजर्भ नभएका कारण सतह तल गएको देखिन्छ।’
खानेपानी कार्यालय जनकपुरका प्रमुख विनोद मिश्रका अनुसार चुरे विनाशले पानीको सतह घट्दै गएको हो। उनले भने, ‘चुरे क्षेत्रको जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा पानीको सतह घट्न गई हाहाकार मच्चिन लागेको हो। ’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा धनुषाबाट गोविन्द महतोले लेखेका छन्।
सामुदायिक वन उपभोक्ता महासंघ धनुषाका अध्यक्ष सोम शर्माले पनि चुरे क्षेत्रको अत्यधिक दोहनले पानीको मुहान सुक्न थालेको बताए। उनले भने, ‘हुनेखानेले त जारको पानी किनेर तिर्खा मेटिरहेका छन्, नहुनेले घन्टौं हिँडेर पानीको जोहो गर्छन्।’ उनले माथिल्लो क्षेत्रमा पानीको रिचार्ज हुन नपाउँदा पानीको सतह तल जान थालेको बताए।
इन्जिनियर यादवका अनुसार जनकपुर नगर क्षेत्र आसपासमा ७० फिटमा पानी भेटिन्छ। तर माथिल्लो तहको पानीमा बढी आइरन हुन्छ। पिउन योग्य हुँदैन। दोस्रो तह १०० फिट र तेस्रो तह १५० फिटमा छ। दोस्रो र तेस्रो तहको पानी भने पिउन योग्य हुन्छ।
उनले भने, ‘पानी परेपछि दुई चार दिन मज्जाले आउँछ। त्यसपछि फेरि त्यस्तै अवस्था हुन्छ।’ चुरे विनाशका कारण पानी रिजर्भ हुन नसकेको उनले बताए। उनले भने, ‘पानी रिजर्भ हुने ट्यांकी चुरे दिनप्रतिदिन मासिँदै गयो। अनि पानीको हाहाकार मच्चिँदै गयो।’
धनुषा तथा महोत्तरीको उत्तरी क्षेत्रका दर्जन भन्दा बढी गाउँका बासिन्दा खानेपानीको चर्को समस्यामा छन्। महोत्तरीका गौशाला, बर्दिबास, खयरमारा, बाहुनमारा, टुटेश्वर, हाथिलेट, धनुषाका तुल्सी, लालगढ, लवटोली, गोदार, ढल्केवर, धारापानी गाउँमा पानीको हाहाकार छ।
‘हिउँदमा बाहिरबाट पानी ल्याएर खानुपर्छ’, महोत्तरी टुटेश्वरका देवेन्द्रकुमार कुशवाहा भन्छन्, ‘चुरे विनाशसँगै पानीको सतह सुक्न थाल्यो, चुरे फेदीका बासिन्दा काकाकुल बने।’


