उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुची बजारको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ। आगलागीबाट अढाई करोड रुपैयाँ बराबरको क्षति भएको छ।

बिहीबार साँझ ५ः३० बजेदेखि आगलागी शुरु भएको थियो। प्रहरी, त्रियुगा नगरपालिकाको दमकल र स्थानीयवासीले गए राति १२ बजेमात्र आगलागी नियन्त्रणमा लिएका उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले जानकारी दिए।

तेजपातसहितको ठूलो भण्डारण घर र औषधि प्रशोधन केन्द्रसमेत भएको स्थानीय भरत थापाको घरमा शुक्रबार साँझ अचानक आगलागी भएको थियो।

आगलागीको कारण घरमा भण्डारण गरिएको दुई करोड बराबरको तेजपात र अन्य प्रशोधन गरिएको औषधि पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

अचानक आगलागी भएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर नगरपालिकाको दमकल झिकाएको थियो। बेलुका ८ बजे दमकल घटनास्थल पुगेपछि प्रहरीको टोली, दमकल र स्थानीयवासीको सहयोगमा रातको १२ बजे मात्र आगलागी नियन्त्रणमा आएको प्रहरी प्रमुख राईले बताए।

आगलागी नियन्त्रण ढिलै भए पनि मुर्कुची बजारका अन्य घर भने आगलागी हुनबाट जोगिएका छन्।

जिल्ला सदरमुकाम गाईघाटदेखि १५ कोष उत्तरपश्चिम पहाडी क्षेत्रमा रहेको मुर्कुची बजारमा दमकल र प्रहरीको टोली पनि पुग्न समय लागेका कारण आगलागी नियन्त्रणमा लिन निकै समय लागेको प्रहरीको भनाई छ।

औषधि प्रशोधन तथा तेजपात खरीदकर्ता भरत थापा राजधानी काठमाडौँ गएको र घरमा औषधि प्रशोधन केन्द्रमा काम गर्ने मजदुर पनि नभएको बेला अचानक आगलागी भएको हो।

आगलागी रहस्यमय रहेको प्रहरीले जनाएको छ। प्रहरीले अहिले आगलागीको विषयमा अनुसन्धान शुरु गरिसकेको छ।

आगलागी भएको औषधि प्रशोधन केन्द्रका सञ्चालक भरत थापा रौता मुर्कुची क्षेत्रको तेजपात खरीदकर्ता हुन्। उदयपुर जिल्लामा तेजपात उत्पादनमध्ये ५० प्रतिशत तेजपात रौता मुर्कुची क्षेत्रमा उत्पादन हुने गरेको छ।

थापाले वर्षेनी पाँच करोडभन्दा बढीको तेजपात खरीद गरेर भण्डारण गरी अन्यत्र बिक्री गर्ने र प्रशोधन गर्ने कार्य गर्दै आएको स्थानीयवासी बताउँछन्।