✍️ शान्ति पाख्रिन ( लेटाङ)

बहुदलीय प्रतिष्प्रर्धाको प्रणाली पुँजीवाद पन्थीहरुको निजी सम्पत्ति हो र समाजवादी प्रणाली भनेको एक दलीय वा बहुदलीय भएपनि त्यो केवल सहयोगात्मक प्रणाली हो भनेर दुनियाँलाई भानपर्यो । यस्ताखाले बिचार प्रविधि तथा चिन्तन एउटा गम्भीर गल्तीको घोतक हो।बहुदलीय प्रतिष्प्रर्धा भएको शासन प्रणाली एकखाले राज्य सत्ताको रुपबाट हेर्ने अनेक सारतत्व भएको राज्यसत्ताहरुको स्वरुप बन्न सक्छ।भन्दै सामन्तवाद, साम्राज्यवादको उन्मुलन पछि कायम गरिने ब्यवस्थामा पनि संविधानको सर्वोच्चता बहुलवादी खुल्ला समाज बहुदलीय प्रतिवादको प्रणाली आवधिक निर्वाचन बहुमतको सरकार र अल्पमतको विपक्षी कानुन अनुशासनको शासक मानवअधिकारको रक्षा सक्ति पृथृकीकरण सिदान्त लगायत बिशिस्ट समेत जनताको बहुदलीय जनवादको सिदान्तहरु रहेका छन्।

यी सिदान्तहरु वास्तबमा पुँजीवादी समाजमा विकाश भएको विशिष्टता हुन्। तर पनि नयाँ खाले समाजमा जनवादी ,समाजवादी समाजमा पारम्परिकमा रहन सक्ने मान्यता रहेको नै जवज हो।यस्तो विधि तथा कार्यबिधिलाई अँगाल्दै लैजानका लागि जननेता मदन भण्डारीले जवजलाई अघि सारेका थिए। जबजका ३ वटा मुख्य सैद्धान्तिक पक्ष छन् । पहिलो हो, पार्टीको लोकतान्त्रिकरण , दोश्रो राज्यसत्ताको लोकतान्त्रिकरण र तेश्रो व्यक्ति स्वयंको लोकतान्त्रिक रुपान्तरण । यो पनि समाजवादी मुल्य मान्यताको जगमा उभिएर गरिने लोकतान्त्रिकीकरण नै मदन भण्डारीको जबजको मर्म हो ।

यसरी हेर्दा पार्टीको लोकतान्त्रिकीकरणको पक्षमा पार्टी सत्तालाई खबरदारी गरेर लोकतान्त्रिकीकरण गर्नु जबजका हरेक अनुयायीको एक कर्तव्य पनि हो । तर ओली पार्टी अध्यक्ष भएपछि अधिकारको अपव्याख्या गर्दै तानाशाहीपथतिर अघि बढ्दा पनि त्यसको ठोस रुपमा बिरोधमा आवाज निकाल्नु पर्नेमा त्यसैलाई मलजल गरेर सैद्धान्तिक निष्ठालाई कमजोर बनाउँदै आएका छन् । पार्टी एकता पछिको बिधान बिपरित पहिलो अध्यक्ष र दोश्रो बरियताको अध्यक्षमा वकालत गर्ने, एमाले एक्लै हुँदा पार्टीमा छलफल बैठक नगर्ने, आफनो कुरो लागु नहुने भएपछि बैठक छोडेर हिँडने, बिवाद चकाउँदै लगेर एकल अध्यक्षको वैयक्तिक निर्णयमा पुर्याउने यस्ता अलोकतान्त्रिक बिधितर्फ पार्टीलाई धकेल्न लाग्दा पनि बचाउ गर्ने काम नेतृत्व वर्गले गरिरहे । यसरी हेर्दा जबजको नाम लिनु एक ढोंग वा वनावटी शब्दजाल मात्र जस्तो हुँदै आएको थियो ।

नेकपा एमाले पार्टी कार्यकर्ताको पार्टी हो । एकल नेताको छत्र छायाँ भएको पार्टी हैन । धेरै समुहहरुको एकताबाट निर्माण भएकोले यहाँ धेरै नेता छन् । धेरै भएकोले छलफल, बिधिसम्मत निर्णयको संस्कार निर्माण गरेको पार्टी हो । यो पार्टी भित्र अल्पमत र बहुमतमा पर्नु एक जीवन पद्धती रहँदै आएको थियो । माधव, झलनाथ, बामदेवहरु कहिले अल्पमत र कहिले बहुमत हुँदै हार्दा र जित्दा पनि यही पार्टीमा आफूलाई समाहित गर्दै आएका थिए । बहुमतको सदर र अल्पमतको कदर यो पार्टीको जीवन पद्धती थियो । ओली अध्यक्ष भएपछि अध्यक्षको महिमागान र अरु नेताको अपमान, ओलीको देवत्वकरण अन्य नेताको दानवीकरण, जीतको समग्र जस पार्टीको सामुहिक नेतृत्वलाई नभएर व्यक्तिलाई दिने अत्यन्त व्यक्तिवादी चरित्र स्थापित गर्न खोजियो । यो जवजको सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारीको सांगठनिक स्प्रीटको प्रतिकुल थियो । त्यसका बिरुद्ध आलोचना गर्नेलाई भेदभावपूर्ण व्यवहार गर्न थालियो ।

पार्टी सदस्यहरुको वैज्ञानिक अभिलेख, कार्यविभाजन, परिचालनका हिसावले यो पार्टी दक्षिण एशियाकै एक सुसंगठीत पार्टी थियो । सानातिना गुटका भंगालाले बगाउने पार्टी यो थिएन । गुटहरु हुन्थे तर ब्यबहारत स्थायी थिएनन् । सबैले गुट अस्थायी हो नै भन्दथे । तर ओलीले नवौं महाधिवेशनमा अध्यक्ष भईसकेपछि गुट बिसर्जन गरेर सबैको नेता बन्नु पर्नेमा उनी निरन्तर गुटको संरक्षणमा लागे । मानौंकि एमाले र नेकपाको दुई तिहाई उनी र उनका गुटका सदस्यहरुलाई बरदानमा आएको सम्पति जस्तो गरियो ।

यो पार्टीमा हरेक पार्टी सदस्यहरुको योगदान छ । आन्दोलनमा ओलीलाई मन पराउने र नपराउनेहरुको पनि योगदान छ भन्ने बिर्साइयो । ओलीको रणनीति आगामी चुनावमा पनि जसरी पनि आफ्ना गुणगान गाउने आसेपासेहरुलाई टिकट बाँडेर सत्तामा राईदाई गरिरहनेमा रहन गयो । यसरी उनले पार्टीमा कब्जा गर्ने नीति लिए । सरकारमा हुने प्रभावलाई पार्टी सत्ताको विस्तारमा दुरुपयोग गरियो । संविधानमा उल्लेख भएका समाजवाद उन्मुख व्यवस्था, मौलिक हक कार्यान्वयन, देशको समृद्धिका सपनामा मेहनती श्रमजिवी मानिसको हितको पक्ष कमजोर भयो ।

ठूला सपनाहरु रेल, हवाईजहाज, ठूला सडक र धरहराले जनताले दैनिक बेहोर्ने साना समस्याहरु ओझेल पर्न थाले । जनता र राज्यका विचको अन्तरबिरोध गहिरो गरी बढ्न थाल्यो । यो अन्तरबिरोध टाल्न झन ठूला सपनाहरुको व्यापार शुरु भएको छ । एमसिसि यसकै उदाहरण हो । त्यो व्यापारमा बिदेशी कम्पनीहरुले जित्ने नेपाली उद्यमीहरु र स्वाभिमानले हार्ने लक्षण देखिएकै छ । साँच्चिकै जवजको अनुयायी हो भने जबजको तिनवटा सैद्धान्तिक पक्षहरुलाई आत्मसात गरेर अगाडि बडेमा मात्रै जवज बच्नेछ।र ,अनुयायीहरुको कर्तब्य पूरा हुनेछ
समाजवादको कुरा गर्दा नेपाली काग्रेसले पनि बीपीको समाजवादलाई अँगाल्दै आएक‍ो पाईन्छ ।

यसले सम्पत्तिको समान वितरण सबैको लागि वास सबैका लागि गाँस ,जसले खेती गर्छ उसैको जमिनमा हक स्थापित हुनुपर्दछ भन्ने मान्यता राख्दछ। जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्न उद्योग सरकारले संचालन गर्ने जस्ता कुराहरुलाई बीपीले आफ्नो समाजवादको सिद्धान्तमा राखेको पाईन्छ ।यता कम्युनिष्टहरुले जनवादी समाजवादलाई अगाडि बढाएको छ। तर बिश्वको इतिहासलाई हेर्ने हो भने यो यति उपलब्धि भएको पाइदैन । बिश्वका कम्युनिस्टहरु पनि पुँजीवादतिर अगाडि बढेको र समानता र कल्याणकारी राज्य स्थापना गर्ने समाजवादको केही राम्रो पक्षको उपयोग गरेको पाईन्छ । जस्तै रुसमा लेलिनले अघि सारेको समाजवादी नीति र चीनमा माओले अघि सारेको नीतिलाइ अघि सारेता पनि सम्भव नभएको पाईन्छ भने नेपालमा राजनीति पाटी भित्रको अन्तर कलहले नै समाजबादी क्रान्ति लाई पछि धकेलेको अनुमान गर्न सकिन्छ।