मोरङ,७ साउन । विराटनगर भन्सारबाट आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब २६ करोड मूल्यभन्दा बढीको सुपारी आयात भएको छ ।

एक वर्षको अवधिमा एक अर्ब २६ करोड ६६ लाख ७७ हजार रूपैयाँ बराबरको सुपारी आयात भएको भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुङ्गानाले जानकारी दिए । उनका अनुसार नेपालमा इन्डोनेसिया, मलेसिया, थाइल्यान्डलगायतका विभिन्न मुलुकबाट सुपारी आयात हुने गरेको छ ।

५७ लाख ४८ हजार दुई सय ५५ किलो अर्थात पाँच हजार सात सय ४८.२५ मेट्रिक टन सुपारी आयात हुँदा ७५ करोड ४९ लाख ३२ हजार रूपैयाँ राजस्व सङ्कलन भएको जानकारी ढुङ्गानाले दिए । उनका अनुसार गत जेठ १५ गतेअघिसम्म सुपारी आयातमा प्रति किलो ४५ रूपैयाँ भन्सार महसुल, २५ रूपैयाँ अन्तशुल्क र १३ प्रतिशत भ्याट लाग्दै आएको थियो ।

बजेट भाषण अर्थात जेठ १६ पछि प्रति किलो भन्सार महसुल र अन्तशुल्क एक–एक सय रूपैयाँ पुगेको जानकारी उनले दिए । विराटनगर भन्सारका अनुसार अम्बे ट्रेडिङ, राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेशनल, पिके ट्रेडर्स र तिरुपति ट्रेड लिङ्कसमेतले सुपारी आयातको अनुमति पाएका छन् ।

ढुङ्गानाका अनुसार एक वर्षको अवधिमा विराटनगर भन्सार हुँदै ९० करोड ६७ लाख १८ हजार रूपैयाँको सुपारी भारततर्फ निर्यात भएको छ । उनले २२ लाख ४८ हजार आठ सय पाँच किलो अर्थात दुई हजार दुई सय ४८.८० मेट्रिक टन सुपारी निर्यात भएको बताए ।

निर्यातमा प्रति गाडी (एउटा प्रज्ञापन पत्र)को एक १३ रुपैयाँ मात्रै भन्सार महसुल लाग्छ । नेपालमा उत्पादित र प्रशोधित सुपारी मात्रै भारत लैजान पाइन्छ । तेस्रो मुलुकबाट नेपाल ल्याएर भारत लैजान पाइँदैन । भन्सारका अनुसार मनकामना ट्रेडर्सले मात्रै सुपारी निर्यातको अनुमति पाएको छ । तेस्रो मुलुकबाट आयात गरिएको सुपारी नेपालमै उत्पादन भएको देखाएर भारततिर तस्करी हुने गरेको छ ।

तस्करी गरेर भारततिर लैजान खोजिएको आशङ्कामा प्रहरीले विराटनगर महानगरपालिका–१८ बाट बिहीबार राति दुई लाख १९ हजार पाँच सय ९६ किलोग्राम सुपारी नियन्त्रणमा लिएको छ । आठवटा भारतीय ट्रकमा लोड गरिएको दुई हजार छ सय ७८ बोरा सुपारी नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । मोरङ प्रहरीका डिएसपी राजन कार्कीले भारत निर्यातको तयारी गरिएको सुपारी नेपालमा उत्पादन भएको हो कि हैन भनेर यकिन गर्ने प्रयास भइरहेको जानकारी दिए । सुपारी सम्बन्धित निकायमा परीक्षणका लागि पठाइने उनले बताए ।

परीक्षणपछि सुपारी नेपालमा उत्पादन भए / नभएको यकिन हुने कार्कीको भनाइ छ । तेस्रो मुलुकबाट आयात भएको सुपारीलाई नेपालमै उत्पादन भएको देखाएर भन्सार जाँचपास गर्दै भारततिर लैजाने गरेको पाइएपछि नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको छ । खुला सीमाको फाइदा उठाउँदै अवैध तरिकाले भारत लैजाने गरिएको सुपारीको धन्दासमेत रोक्न प्रहरी सक्रिय भएको हो । भारततर्फ तस्करी गर्नकै लागि बर्सेनि ठूलो परिणाममा सुपारी आयात हुने गरेको भन्सार स्रोत बतायो ।