नबराज पथिक

काठमाडौं । माधव नेपाल नेपालको कम्युनिष्ट आन्दोलनबाट सबैभन्दा बढी लाभ लिने पात्रको नाम हो ।

माधव नेपाल डेढ दशकसम्म नेपालकै सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी नेकपा एमालेको सर्वोच्च पद महासचिवमा विराजमान हुनुभयो । सोही पार्टीबाट उपप्रधानमन्त्री र प्रधानमन्त्री हुनुभयो ।

पार्टीको नामबाट राजनैतिक, आर्थिक, सामाजिक सबै सबै लाभ लिनुभयो । मान, सान, दाम सबै त्यही पार्टीबाट कमाउनुभयो ।

45742656_1888391917881345_208069690654720_n

 

                                                   लेख : नबराज पथिक

पार्टीको संगठन निर्माण र विस्तारको काममा उहाँले कहिल्यै ध्यान दिनुभएन । पार्टी संगठन अस्तव्यस्त भयो । जसको परिणाम २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा एमालेले सर्वनाक हार बेहोर्नु पर्‍यो ।

पार्टीलाई समाप्त पर्नुभएका माधव चुनाव पछि जिम्मेवारीबाट भाग्नुभयो । उहाँले महासचिव पदबाट राजीनामा दिनुभयो । मजबुत बनेको कम्युनिष्ट पार्टीलाई माटोमा मिलाएर छाड्नुभयो ।

कम्युनिष्ट पार्टीलाई डुबाएर भाग्नु भएका माधव नेपाललाई सत्ता र शक्तिको मोहले छाडेको थिएन । त्यसैले उहाँ पार्टीको नवौँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षको लागि प्रतिस्पर्धा गर्न पुग्नुभयो । तर पार्टी सिद्धाउने माधव नेपाललाई कार्यकर्ताले पत्याएनन् । उहाँ अध्यक्ष पदमा पराजित हुनुभयो । केपी शर्मा ओली अध्यक्ष बन्नुभयो ।

केपी ओली अध्यक्ष भएपछि एमाले पार्टीले नवजीवन पायो । पार्टी पुनः संगठित भयो । एमाले देशको सबैभन्दा ठुलो पार्टी बन्यो ।

२०७४ को स्थानीय तह निर्वाचनसम्म आइपुग्दा नेकपा एमालेले चमत्कारी परिवर्तन गर्‍यो । कांग्रेस, माओवादी लगायतका दल गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले देशभरका अधिकांश स्थानीय तहमा विजय हासिल गर्‍यो ।

केपी ओलीको चमत्कारी संगठन क्षमताबाट सबै राजनीतिक दल आत्तिए । पहिलो संविधान सभा निर्वाचनमा देश र दुनियाँलाई बन्दुकको आडमा धम्क्याएर पहिलो दल बनेको माओवादी दोस्रो संविधान सभा निर्वाचनमा तेस्रो दल बन्यो । २०७४ सालको स्थानीय तह निर्वाचनसम्म आइपुग्दा माओवादी पत्ता साफ भयो । माओवादी उठ्नै नसक्ने गरी धसियो । कांग्रेससँगको साँठगाँठले प्रचण्ड पुत्री रेणुलाई जालझेल गरेर चितवनको मेयर बनाउने बाहेक खासै लाभ माओवादीलाई भएन ।

केपी ओलीको नेतृत्वमा भएको एमालेको चमत्कारिक परिवर्तनले माओवादी अध्यक्ष प्रचण्ड आत्तिनुभएको थियो । आफ्नै पार्टीका नेता माधवकुमार नेपाल भने तड्पिनु भएको थिए ।

एमालेसँग नमिल्ने हो भने माओवादी नामको पार्टीको अस्तित्व नै सकिने प्रचण्डले ठान्नुभयो । त्यसैले सुरक्षित अवतरणको लागि एमालेसँग मिलेर २०७४ को प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन लड्ने र निर्वाचन पछि पार्टी एकता गर्ने आकस्मिक निर्णयमा प्रचण्ड पुग्नुभयो ।

केपी ओलीले पनि कम्युनिष्ट केन्द्र बन्ने देखेर प्रचण्डको प्रस्ताव सहजै स्विकार्नुभयो । कार्यकर्ता तहसम्म होइन नेतृत्व तहमा पनि विस्तृत छलफल नगरी उहाँले प्रचण्डको प्रस्ताव स्विकार्नुभयो । प्रचण्डको जाली खेल ओलीले बुझ्न सक्नुभएन । सायद अहिले त्यसको पश्चात्ताप भोग्दै हुनुहुन्छ ।

एमाले र माओवादी मिलेर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लडे । निर्वाचनमा राम्रो सफलता पनि मिल्यो । दुई दल मिल्दा सुविधाजनक बहुमत प्राप्त भयो ।

चुनाव सकिने बित्तिकै पार्टी एकता गर्ने भनेका प्रचण्डले फेरी झेल सुरु गर्नुभयो । कांग्रेसँग मिलेर आफू प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने प्रयासमा लाग्नुभयो । तर आफूलाई धोका दिएर एमालेसँग मिलेको प्रचण्डलाई कांग्रेस प्रधानमन्त्री बनाउन तयार भएन । त्यसैले प्रचण्डको खेलो मेलो बिग्रियो र फेरी एमालेसँगै सहकार्य गर्न फर्कनुभयो । नेता कार्यकर्ताको दबाब र प्रतिकूल अवस्थाको कारण पार्टी एकताको चरणमा पुग्नुभयो ।

अस्थिरताका खेलाडी प्रचण्ड पार्टी एकतापछि चुप लागेर बस्नु भएन । तत्कालीन एमाले भित्रको अन्तर्विरोधसँग खेल्ने र केपी ओलीलाई सिद्ध्याउने खेलमा लाग्नुभयो । ओलीलाई सिद्ध्याउन लाग्नुभएका माधव नेपाल त्यसकै प्रतीक्षामा हुनहुन्थ्यो । त्यसैले उहाँले साथ दिनुभयो । बामदेव गौतम जस्ता अस्थिर पात्रहरूले त्यसलाई मलजल गर्नुभयो । राष्ट्रपति बन्ने लालचामा झलनाथ खनाल पनि पछि लाग्नुभयो ।

माधव नेपाल र प्रचण्ड मिलेर केपी ओलीलाई सिद्ध्याउन लाग्नुभयो । अवसरवादी माधव नेपाले एकाएक माओवादी बन्नुभयो । नेकपा भित्रको माओवादी ।

त्यसो त माधव नेपाल सुरु देखिनै माओवादीको निकट हुनुन्थ्यो । माओवादीले जनयुद्धको नाममा आफ्ना कार्यकर्तालाई काट्दा, कुट्दा, बेपत्ता बनाउँदा, मारेर फाल्दा पनि माधव नेपाल चुँसम्म बोल्नु हुन्थ्यो । त्यसको एक्लै केपी प्रतिवाद गर्नुहुन्थ्यो । माओवादीको आलोचना गर्नुहुन्थ्यो । त्यसैले केपी ओली प्रचण्डको निशानामा हुनुहुन्थ्यो । एमालेसँग पार्टी मिलाउनु उहाँको इच्छा होइन बाध्यता थियो ।

प्रचण्डसँग मिलेर माधव नेपालले आफ्नै पार्टीको सरकार ढाल्नुभयो । आफ्नै पार्टी र सरकारको विरुद्ध सडक आन्दोलनमा पुग्नुभयो । आफ्नै प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव लैजान हस्ताक्षर गर्नुभयो । आफ्नै पार्टी संसदीय दलको नेता र पार्टी अध्यक्षलाई पार्टीबाट निकालेको किर्ते निर्णयमा हस्ताक्षर गर्नुभयो । सोच्दै नसोचेको र सामान्य मानिसले गर्न नसक्ने हर्कत गर्नुभयो ।

प्रचण्डसँग माधव नेपालको बाँधिएको लगनगाँठो एकाएक सर्वोच्च अदालतले चुँडाइदियो । प्रचण्डसँग मिलेर केपी ओलीलाई सिद्ध्याउन अनेक षडयन्त्र गरिरहेको बेला अदालतले माओवादी र एमालेलाई अलग अलग दल बनाइदियो ।

माधव नेपाललाई एमालेको कित्तामा आउन बाध्य बनायो । सांसद् पद जोगाउन माधव नेपाल एमालेमा आउनुभयो । तर उहाँको प्रचण्डसँग डिप लभ परिसकेको थियो । त्यसैले रात दिनको बास प्रचण्डसँगै हुन्थ्यो । केपी ओली र एमाले विरुद्ध षडयन्त्रको जञ्जाल बुनिन्थ्यो ।

प्रचण्डले माधव नेपाललाई अन्ततः शेरबहादुर देउवासँग लगेर जोड्नुभयो । दलको निर्णय विपरीत शेरबहादुरलाई प्रधानमन्त्री बनाउने निवेदन बोकेर सर्वोच्च अदालत पुग्नुभयो । माधव नेपाल एमालेमा नै बसेर पनि माओवादी बन्नुभयो ।

जब शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो त्यस पछि माधव नेपालकै लागि दल फुटाउने अध्यादेश ल्याइयो । माधव नेपाल अवैध कानुनको सहायता लिएर एमालेबाट निस्किएर जानुभयो ।

आफ्ना पछि लाग्नेलाई तत्काल चित्त बुझाउन माधव नेपालले नेकपामा एकीकृत समाजवादी नामको पार्टी खोल्नुभयो । समाजवादी माधव नेपालको देखाउने दाँत थियो । असली चपाउन दाँत त माओवादी नै थियो । त्यसको बङ्गारा पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो र हुनुहुन्छ ।

अहिले पनि माधव नेपालको पार्टीले आफैले एक्लै केही निर्णय गर्न सक्दैन । प्रचण्डसँग बसेर माधव नेपाल निर्णय गर्नुहुन्छ पार्टीको बैठकमा आएर त्यसलाई पढी बाची सुनाउनुहुन्छ । त्यसैले अहिले उहाँको पार्टी भित्रै व्यापक असन्तुष्टि बढेको छ ।

सांसदहरू त मन्त्री खानकै लागि नेपालको पछि लागेका थिए । तर कार्यकर्ता माधव नेपाल पुरानो मान्छे राम्रो गर्नुहोला भनेर पछि लागेका थिए । उहाँको असलियत बुझेपछि उनीहरू नेपाललाई छाड्दै एमाले फर्कँदै छन् । नेतृत्वमा नै रहेको पनि प्राय निष्क्रिय भएका छन् ।

माधव नेपालको अहिले पनि प्रचण्डको पुच्छर भएर हिँड्नु भएको छ । देशमा मूलतः कांग्रेस र माओवादी गठबन्धनका मुख्य दल हुन् । तर त्यो गठबन्धनको पुच्छर बनेर माधव लतारिँदै जानुभएको छ । गएको स्थानीय तर निर्वाचनमा त्यही भागबन्डाबाट माधव नेपालले केही सिट प्राप्त गर्नुभयो । आउने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन पनि उहाँको काहीँ पनि एक्लै लड्ने आँट छैन त्यसैले गठबन्धनसँग आफ्नो भाग खोज्दै हुनुहुन्छ । कांग्रेसको बेवास्ताको बिचमा पनि उहाँ जबरजस्ती प्रचण्डको पछि लागेर देउवाकोमा धाउँदै हुनुहुन्छ ।

प्रचण्डले माधव नेपाललाई घिसारेर हिँड्नुको पछाडि दुई वटा कारण छन् । एउटा त दुवै स्वार्थका भण्डार हुन् । त्यसैले उहाँहरूको गोत्र र वर्ग मिल्छ ।

दोस्रो चुनाव सकिने बित्तिकै माधव नेपालको पार्टी माओवादीमा विलय हुँदै छ । अहिले कांग्रेससँग बार्गेनिङ गरेर माधव नेपालको लागि पनि केही सिट बढाउन सकियो र कांग्रेसको मतले चुनाव जिताउन सकियो भने भोलि सरकार बनाउँदा बार्गेनिङ गर्न पाइन्छ र फेरी अस्थिरता मच्चाएर राज्य कोषको दुरुपयोग गर्न पाइन्छ ।
माधव नेपाल हिजो पनि माओवादी हुनुहुन्थ्यो, आज पनि माओवादी हुनुहुन्छ र भोलि त विधिवत् रूपमा नै माओवादी हुने निश्चित भइसकेको छ । उहाँले औपचारिक रूपमा नै भनिसक्नुभयो, कि प्रचण्डसँग सबै कुरा मिल्छ, त्यसैले पार्टी एकता हुन्छ ।

अब माधव नेपालको पछि लाग्ने उहाँका कार्यकर्ता यो कुरामा स्पष्ट हुनुपर्छ कि उहाँहरु माओवादी हुने कि नहुने । यदि माओवादी नै हुने हो भने माधव नेपाललाई किन पर्खी रहने ? सोझै माओवादी गएको राम्रो ।

होइन माओवादी ठिक छैन, माओवादी भन्दा एमाले नै ठिक भन्ने लाग्छ भने चुनाव अगाडि नै एमाले फर्कनु पर्‍यो । चुनाव अगाडि एमाले हराउन लाग्ने, अनि माधव नेपाल माओवादीमा गएपछि एमालेमा फर्कने नैतिक अधिकार उहाँहरूलाई हुँदैन । त्यो एमाले माथिको धोका हुन्छ, राजनीतिक रूपमा अपराध हुन्छ ।

अब माधव नेपालको पार्टीमा रहेका नेता कार्यकर्ताको कित्ता क्लियर गर्ने बेला आएको छ । माओवादी हुने कि एमाले हुने ? अथवा अर्कै पार्टीमा जाने । त्यस बारेमा बेलैमा निर्णय गर्न जरुरी छ । राजनीतिक इमानदारिता कायम गर्न आवश्यक छ ।