आज म झन्डै तेत्तिस बर्ष अगाडीको सम्झना गर्दैछु जतिबेला मेरो बुवालाइ मैले जिल्ला प्रहरी कार्यालयको अगाडी खाना खाँदै गर्दा देखेको थिएँ । हुन त बुवा प्रजातन्त्र स्थापनाको निम्ती संचालित आन्दोलनको मोर्चा सम्हाल्दै गर्दा गिरफ्तार भएर थुनामा पर्नु भएको रहेछ तर त्यतिबेला ७ बर्षको उमेरको मैले बुझ्न सक्ने कुरा भएन ।
सधैं अध्यन गर्ने , अरुलाइ पढाउने अनि राम्रो काम मात्रै गर्नुपर्छ भन्ने सिकाउने मेरो बुवा मेरो लागि सदैव आदर्श हुनुहुन्छ , त्यसबेला पनि त्यही सत्य थियो । बुवाकै डरले गलत गर्न डराउने मेरो लागि बुवा कुनै दिन थुनुवा हुनु होला भन्ने लाग्ने कुरै थिएन । त्यस दिन पनि बुवालाइ प्रहरी कार्यालयको परिसरमा खाना खाँदै मात्रै देखेकोले मैले बुवालाइ थुनेको होला भन्ने बुझेको थिइन तर हामीलाइ संगै लिएर जाने श्रद्धय मनोहर भिनाजु ( मैया दिदि/ठुलो दिदिको श्रीमान) ले प्रहरी कार्यालयको ढोकामा “ हामि शिव बहादुर देउजालाइ भेटन आएको ” भन्दा त्यसबेला ड्युटीमा रहेका प्रहरीले “ कतिजना चाहिं भेटन आउँछन हो एक दिनमा ?” भन्दै झर्केको सुन्दा म केटाकेटि नै भए पनि अमिलो लागेको थियो नै ।
जव बुवा खाना खाइ सकेर थाल बोकेर माँझ्न हिडनु भयो तव देखियो कि बुवाको टाउकोमा सेतो पट्टि लगाएको रहेछ । बुवा भाँडा माझेर आइसक्दा नसक्दै हजुरआमाले प्रहरीलाइ भन्नु भयो “ बाबु तिमीहरुले मेरो छोरालाइ चोरेकोले डाँका डालेकोले ल्याएछौ , ल्याउनै पर्थ्यो तर पनि यो मेरो छोरो म मरे किरिया यसैले गर्न पर्छ त्यसैले यसको टाउकोको त्यो घाउ सफा गर्ने टाँका काटने काम गर्दिनुपर्यो ।” अनि थप्दै भन्नु भयो “ बरु लागेको खर्च म गर्छु तर मेरो छोरोको टाउको बिगार्न पाइन्न ।” हजुर आमाको कुरा सुनिरहेको त्यो प्रहरीले अलिक नरम भएर भने “ आमा हामिले मात्रै भनेर हुदैन माथि सोध्नु पर्छ ।” उसको बोलि खस्न नपाउँदै हजुरआमाले भन्नु भयो “ को ठुलालाइ सोध्न छ सोध मेरो लागि छोरो भन्दा ठुलो कोहि छैब , टाँका काटन नलगी म जान्न ।” यति भन्दा नभन्दै बुवा भाँडा माजेर आउनु भयो अनि प्रहरीले बुवालाइ भित्र लगे ।
म बबुरोले बुझेँ कि बुवालाइ थुनेको रहेछन । केहि गल्ती गर्यो भने ठुलाबडाले “ पख पुलिस बोलाउँ” भनेर थर्काउने गरेको कुरा सामना गरेकोले पुलिसले मान्छे थुन्छ भन्ने त थाहा थियो नै । तर मेरो बाल मस्तिष्कमा एउटा मात्रै सवाल आउने कि “ हामिलाइ एउटा सिन्को कसैको ल्याउन हुन्न भन्ने बुवा कसरि चोर ?” अनि “ के चोर्नु भयो होला त बुवाले ?” झन एकै छिनमा हजुर आमा संग बोल्ने प्रहरी आएर भन्यो “ आमा ल तपाईंको छोरालाइ टाँका काटन लान लाग्यौँ ।” अनि त्यसो भनिसक्दा नसक्दै बुवालाइ हातमा हतकडी अनि खुट्टामा जन्जिर लगाएर निकालेको देखें । सार्है नराम्रो लाग्यो । अनि हामि घर गयौं । संयोगले त्यसै दिन फेरी मैले बुवालाइ भेट्न आमा अनि सम्झना आन्टी संग फेरी जाने मौका पाएँ । त्यो बेला त झन बुवालाइ जेल भित्र नै राखेको रहेछ ।
प्रहरीको कडा निगरानीमा आमाले बुवा संग कुरा गर्दा बुवाले आमालाइ आफ्नो हात पनि भाँचिएको देखाउनु भयो । आमा बुवाले त्यहाँ भित्र सामान्य ढंगले कुरा गरे पनि पछि वाहिर आएर आमा नराम्रो संग रुनु भयो । त्यसबारे छुट्टै लेखौंला । अहिले चाहिं बुवालाइ हजुरआमाले चोर डाँका हो मेरो छोरो भनेको कुराले पारेको असरमै केन्द्रित हौँ । हामिले बुवालाइ जेलमा भेटेर फर्केको केहि दिन पछि राती बुवा अनि रामहरी सुबेदी दाइ ( जो पछि सांसद पनि हुनु भयो ) घर आउनु भयो , खाना साना खाएर फेरी राती नै हिडनु भयो । हजुर आमाको भनाइले बुवा प्रति अर्कै धारणा बनाएको मेरो मस्तिष्कलाइ झन् राती आउने राति नै जाने कुराले थप असर गर्यो । त्यसको सायद एक दिन पछि होला जस्तो लाग्छ गाउँमा बिहानै नया माहोल थियो , हाम्रो घरमा मान्छेहरुको आउजाउ अत्यन्त बढेको थियो । दिउँसो गाउँका धेरै मान्छेहरु हाम्रो घरमा माला अबिर बोकेर आउनु भयो अनि घरका सबै संगै हामि पनि बनेपा जाने भनेर हिड्यौं । बाटो भरि मान्छेको ताँती थियो ; अबिर माला खुसियाली थियो ।
बनेपा पुगेपछि जुलुसले सभाको रुप लियो अनि त्यहाँ मैले बुवालाइ देखें । गला भरि माला अनि शरीरभरि अबिरले पुरिएर बुवा बोल्दै हुनुहुन्छ , मान्छेहरु घरि घरि तालि बजाई रहेका छन । म थप अन्योलमा परें अस्तिसम्म हजुरआमाले नै चोर डाँका भनेको मान्छे आज कसरि अबिर माला लगाएर भाषण दिने हुनु भयो ? किन मान्छेहरु बुवा बोल्दा तालि बजाउँदो हुन भन्ने लाग्यो ? त्यसपछि पनि लगातार धेरै पटक बुवाले अबिर माला लगाएको हेर्ने, भाषण गरेको सुन्ने हेर्ने मौका पाइन्थ्यो तर मनको अन्योल न म भन्न सक्थें न कसैले बुझेर त्यसलाइ शान्त पार्थ्यो ।
समय क्रम संगै करिव २०४९ साल तिर बुवा सांसद भएको पनि केहि महिना पछि मैले अध्यन मार्फत बुझें कि बुवा चोरेर डाँका डालेर जेल पर्नु भएको हैन रहेछ । बुवालाइ हामीले भेटने समयमा त बुवा जनताको लेख्ने बोल्ने हक रक्षा गर्दै जनताले चुन्न र चुनिने पाउने अधिकारको ग्यारेण्टी गर्ने प्रजातान्त्रिक व्यवस्था स्थापनाको लागि संघर्ष गर्दै गर्दा निरङ्कुश शासकहरुको आदेश पालक प्रहरीहरुको निर्मम दमनको सिकार भएर टाउकोमा सत्ताइस टाँका लगाएको अनि हातको औंला भाँचिएको अवस्थामा हुनुहुँदो रहेछ ।
हजुरआमाको त्यो भनाइ प्रहरीहरुलाइ शव्दले घोचपेच गरेर भए पनि आफ्नो छोरालाइ उपचार गराउने मनसायले अभिव्यक्त भएका रहेछन । आज बुवा अनि बुवा जस्ता हजारौंले त्यसबेला गरेको त्याग बलिदानको जगमा स्थापित प्रजातन्त्रले कमसेकम पनि अभिव्यक्ति स्वतन्त्रता रक्षा गरेको , चुन्ने चुनिने अधिकारको ग्यारेन्टी गरेको तथ्यको स्मरण गर्दै गर्दा त्यसबेला परेको भ्रम अनि महशुस भएको पिडाको क्षेण ताजा हुन्छ । अनि गर्व लाग्छ बुवाको इमान , नैतिकता अनि सदाचारिताको निरन्तरता आजसम्म अविचलित कायम रहेकोमा ।
(वहाँको बुवा शिव बहादुर देउजा नेकपा एकीकृत समाजवादीका अनुशासन आयोगका अध्यक्ष हुनुहुन्छ जो काभ्रे बाट २०४८, २०५१ र २०५६ सालमा काभ्रे बाट निर्वाचित साँसद हुनुहुन्थ्यो )


















