तत्कालीन एक नम्बर प्रदेशको न्वारानसम्म गरियो। सस्तो लोकप्रियताको भोकमा गरिएको छापामार शैलीको नामकरणले नामको अपेक्षालाई पूर्णता दिने औपचारिकतासम्म गरेको छ। तर जुन हिसाबले सर्वस्वीकार्यता र अपनत्व प्राप्त गर्नुपर्ने थियो, त्यो भने प्राप्त गर्न सकेन।
प्रदेशको नामकरणको सवाललाई लिएर पहिचानवादी शक्तिहरू आन्दोलनको मैदानमा छन्। आन्दोलनको रुप र गति हेर्दा सितिमिति पारामा रोकिएला भन्ने अवस्था पनि देखिँदैन। रोकिए पनि भुसको आगोझैं भित्रभित्रै सल्कने खतरा त्यतिकै छ।
पहिचानको सवालमा दलीय नेतादेखि कार्यकर्तासम्ममा बुझाइको अभाव र अहमताले गञ्जागोलको अवस्था सिर्जना गर्यो। शब्दलाई जातीयतासँग लगेर जोड्ने काम भयो। ठूला कहलिएका राजनीतिक दलहरूले दूरदर्शीता देखाउन सकेनन्। उनीहरूलाई जनताको मनोविज्ञानभन्दा सत्ताको चास्नि महत्वपूर्ण लाग्यो। शब्दजालमा जनतालाई भ्रम सिर्जना गर्ने काम भायो। ऐतिहासिक तथ्यलाई केलाउने र स्वीकार गरिने कुरामा ध्यान जान सकेन।
जहाँसम्म शब्द भ्रमको सवाल छ, किराँत र लिम्बुवान जात होइन , प्राचीन सभ्यता र पहिचान हो। इतिहास, भूगोल, भाषा र संस्कृतिको साझा मनोविज्ञान हो। भाषा शास्त्रका अनुसार कैलाशबाट कैलात, कैलातबाट कैरात र कैरातबाट किराँत भएको पाइन्छ। त्यसैगरी लियाबुआडबाट लिम्बुवान भएको पाइन्छ। लियाबुआडको अर्थ वाण अर्थात तीर हो। तीर त्यहाँ बस्ने जातजातिहरूको परम्परागत हतियार हो। अनि किराँत र लिम्बुवान शब्द कुन अर्थमा जातीयता भयो?
पौराणिक सभ्यताका आधारमा कसैले पहिचानको सबाल उठायो भने त्यसलाई बिनाआधार जातीयताको रंग भिराएर पन्छाउन पाइन्छ? अनि देश भनेको चारकिल्ला मात्र हो या त्यहाँका जनता पनि हुन्? यदि राज्यको परिभाषाभित्र जनता पनि पर्छन् भने जनताको मनोविज्ञानमाथि खेलवाड गर्न पाइन्छ?
तत्कालीन शाहवंशीय राजाहरूले समेत स्वीकार गरेको किराँत सभ्यताबाट तर्सिएर भाग्नुपर्ने कुनै कारण छैन। ओल्लो किराँत, पल्लो किराँत र माझ किराँतको संस्कार, सभ्यता र संस्कृतिमा हामी अभ्यस्त बनिसकेका छौं। वर्तमान इलाम, पाँचथर र ताप्लेजुङमा बसोबास गर्ने जनताहरू ओल्लो किराँत क्षेत्रका बासिन्दा हुन्।
इमान्दारीपूर्व बोल्नुपर्दा कोसी नामकरण कुनै पनि मानेमा सान्दर्भिक देखिँदैन। हिन्दु सभ्यता अनुसार कौशिक गोत्रीय ऋषिले तपस्या गरेको आधारमा कोसीको नामकरण गरिएको हो भने पनि त्यसले समग्र भूगोल र साझा मनोविज्ञानलाई सम्बोधन गर्न सक्दैन। यदि नदीलाई नै आधार मानेर नामकरण गरिएको हो भने पनि त्यो कुन नदी हो त?
त्यसैगरी, वर्तमान भोजपुर, ओखलढुंगा र खोटाङमा बसोबास गर्ने जनताहरू माझ किराँतका बासिन्दा हुन्। अनि वर्तमान सिन्धुली, रामेछाप र सोलुखुम्बुका जनताहरू ओल्लो किराँतका बासिन्दा हुन्। त्यसबेलाका सामन्तवादका नाइके समेतले स्वीकार गरेको सवालबाट हामी लोकतन्त्रवादी भनाउँदाहरू किन भागिरहेका छौं?
इमान्दारीपूर्व बोल्नुपर्दा कोसी नामकरण कुनै पनि मानेमा सान्दर्भिक देखिँदैन। हिन्दु सभ्यता अनुसार कौशिक गोत्रीय ऋषिले तपस्या गरेको आधारमा कोसीको नामकरण गरिएको हो भने पनि त्यसले समग्र भूगोल र साझा मनोविज्ञानलाई सम्बोधन गर्न सक्दैन। यदि नदीलाई नै आधार मानेर नामकरण गरिएको हो भने पनि त्यो कुन नदी हो त? अरुण, तमोर, सुनकोसी, दुधकोसी र सप्तकोसी कुन हो त? आफूलाई बुद्धिजीवि भन्न मन पराउने मित्रहरूले कोसी भनेको नदीको नाम हो भनेर त्यतिकै भ्रम फैलाउन पाइन्छ? अनि कोसी प्रदेशको नाममा मतदान गर्ने दलीय माननीयहरूले कुन आधारमा मतदान गरेका हुन् त? नदीको नाममा कि सभ्यताको नाममा? जनतालाई जवाफ दिनु पर्दैन?
इतिहासबाट शिक्षा लिन सकिएन भने देशलाई सुखी र सम्पन्न बनाउन कदापि सकिँदैन। आज मित्रराष्ट्र भारत एकीकृत छ। तर पाकिस्तान बिखण्डित छ। किन? इतिहास पल्टाऔं। सन् १९५५ अगस्ट १५ मा भारत स्वतन्त्र भयो। स्वतत्त्रताको केही समयमै पाकिस्तान बेग्लै राष्ट्रको रूपमा अलग्गियो। भारतले पहिचान स्वीकार गर्यो। तर पाकिस्तानले पहिचानको सवाललाई जबरजस्त दबायो।
पूर्वी भेगका बंगालीहरूको आवाजलाई राज्य सत्ताले बेवास्ता गर्यो। असन्तुष्ट जनताको क्रमिक रूपको संगठित विद्रोह पृथकतावादमा रूपान्तरण भयो। पाकिस्ता विभक्त भयो। १९७१ मा बंगालादेश बन्यो। हामीले शिक्षा लिनु नपर्नै? पहिचानको न्यायिक सवाललाई अतिरञ्जित गरेर कतै हामीले पनि पृथकतावादलाई मलजल गरिरहेका त छैनौं?
कोसीको नामकरणको सवालमा बहस गरिरहँदा राजनीतिक दलहरूको विगत र वर्तमानको भूमिका साथै भनाइ र गराइबीचको तादम्यता बारेमा बोल्नैपर्ने हुन्छ। पहिचानको सवालमा नेपाली कांग्रेसको बारे टिपणी गरिरहनु जरुरी छैन। किनकि, उसले विगतदेखि नै पहिचानको सवाललाई अस्वीकार गर्दै आएको हो। तर पनि उसलाई लतारेरै भए पनि पहिचानको पक्षमा उभ्याउन सकिने अवस्थासम्म थियो। त्यसो गर्न सकिएन। अब्बल दर्जाका पहिचानवादी भनिने दलहरूले त्यसो गर्नु आवश्यक देखेनन्। नामलाई सत्तासँग सौदाबाजी गरे।
संविधान जारी हुँदाको बखतमा तत्कालीन नेकपा एमालेबाट गठित राज्य पुन:संरचना आयोग त्यसको प्रतिवेदन र सो प्रतिवेदनलाई तत्कालीन केन्द्रीय कमिटीको पूर्ण बैठकको सर्वसम्मत निर्णयअनुसार यस प्रदेशको नाम कोसी किराँत हो। तर कमरेड केपी ओली पार्टीको सत्तामा आएपछि उहाँले एमालेलाई पहिचानविरोधी कित्तामा उभ्याउनु भयो र पार्टीलाई घोर दक्षिणपन्थीकरण गर्नुभयो। त्यसकारण सो पार्टीको बारेमा पनि धेरै समय खेर फाल्नुको कुनै अर्थ छैन। नेकपा एकिकृत समाजवादीले संख्या र शक्तिको आधारमा जुन भूमिका निर्वाह गर्यो त्यसलाई नमन गर्नैपर्छ।
पहिचानको सन्दर्भमा नेकपा माओवादी केन्द्रको दोहोरो चरित्र र सत्तालोलुपता प्रवृत्तिकोबारे भने जति निन्दा गरे पनि पुग्दैन। आफूलाई पहिचानको अब्बल मसिहा ठान्ने सो दलको ओठे क्रन्तिकारिता पहिचानको बाधक बन्यो। यसो भनिरहँदा माओवादीका मित्रहरूले प्रतिक्रान्तिको शब्दले आरोप प्रहार गर्नुहोला। बहुमत थिएन भन्ने वाहियात तर्कले माथि पर्नु होला। तर बहुमत थिएन भन्ने नाममा प्रतिबद्धताबाट पछि सर्न मिल्छ? विपक्षमा मतदान गर्दा के बिग्रने थियो? राजनीतिमा इमान्दारिता र नैतिकता हुँदैन? ठूला गफ गरेर मात्र हुन्छ?
हुन त यतिखेर माओवादी राजनीतिभित्र ‘राज’ मात्र खोज्न सकिन्छ। तर नीति र नैतिकता खोज्न सकिँदैन। त्यो खोजियो भने मुर्खता मात्र हुनेछ। यदि नीति र नैतिकता हुने थियो भने निर्वाचनको प्रतिबद्धताविपरीत रातारात एमालेसँग लनगाँठो जोडिने थिएन। अनि किराँत, लिम्बुवान र कोचिलाको दसकौंदेखिको उसको रटान कोसीको बगरमा डुब्ने थिएन। सत्तामा सौदाबाजी पनि हुने थिएन।



















