बेलबारी,१३ कत्तिक  ।  मोरङको बेलबारीमा माटोको ढिस्कोले पुरिएर आइतबार साँझ एक महिलाको मृत्यु भएको छ । 

ढिस्कोले पुरिएर बेलबारी नगरपालिका–१० की अन्दाजी २८ वर्षीय सुनीता राजवंशीको मृत्यु भएको हो । प्रहरीका अनुसार बेलबारी–८ स्थित बलुवाईमा बाँसको झ्याङमुनि माटो खन्ने क्रममा अचानक ढिस्को खसेर सुनीतालाई पुरेको थियो । 

ढिस्कोले पुरेपछि सँगै माटो खन्न गएकी स्थानीय गीता राजवंशीले उनको उद्धार गरेकी थिइन् । गम्भीर घाइते अवस्थामा उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ सुनीतालाई साँझ ५ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।