काठमाडौं, २१ असार । बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा भूमाफियालाई दिनेगरी किर्ते कागजात तयार पार्ने तत्कालीन उपसचिव र शाखा अधिकृतसहित पाँच जना कर्मचारीलाई एक साताभित्र उपस्थित हुन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।

ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि भइरहेको अनुसन्धानमा बोलाउँदा नआएपछि आयोगले सार्वजनिक सूचनामार्फत उपसचिव र शाखा अधिकृतसहित भूमिसुधार तथा व्यवस्थापन विभाग र मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीलाई बयानका लागि सूचनामार्फत डाकेको हो ।

विभागका तत्कालीन निर्देशक (उपसचिव) पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द्रप्रसाद ढुंगाना, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु टीकाबहादुर बिसी, झपेन्द्रराज पन्त र खरिदार जीवनाथ पोखरेललाई आयोगले एक साताभित्र उपस्थित हुन निर्देशन दिएको हो ।

अनुसन्धानकै क्रममा २०४९ र २०६२ सालमा डिल्लीबजार मालपोत कार्यालय प्रमुख रहेका क्रमशः कलाधर देउजा र टीकाराम घिमिरेले आयोगमै पुगेर बयान दिइसकेका छन् । देउजाले बयानका क्रममा ललितानिवासको जग्गा व्यक्तिलाई दिने निर्णयमा प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिवदेखि भूमिसुधार मन्त्रालय, विभाग र डिल्लीबजार मालपोत कार्यालयका खरिदारसम्मको संलग्नता रहेको उल्लेख गरेका छन्। बयानका गएका अन्य आरोपीहरूले पनि कर्मचारीलाई मात्रै दोष देखाएर मुख्य निर्णयकर्ताहरूलाई उन्मुक्ति नदिन आग्रह गरेको उच्च स्रोतले जानकारी दियो ।

यसअघि आयोगले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा हुनेगरी किर्ते कागजात तयार पार्ने तत्कालीन उपसचिव हुपेन्द्रमणि केसी, भाटभटेनी सुपरमार्केटका सञ्चालक कल्याण गुरुङ, भूमाफियाद्वय शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित ८९ जनालाई सार्वजनिक सूचनामार्फत उपस्थित हुन निर्देशन दिइसकेको छ ।

पूर्व सचिव शारदाप्रसाद त्रितालको समितिले ललितानिवासको जग्गा हडप्ने भूमाफिया र कर्मचारीमाथि कारबाहीको सिफारिससहित प्रतिवेदन बुझाएपछि २०७५ फागुन २८ गते मन्त्रिपरिषद्ले आयोग र ब्युरोलाई त्यसको अनुसन्धान गर्न जिम्मा दिएको थियो ।

आयोगले सूचनामार्फत बोलाएपछि जग्गा हिनामिनामा संलग्न केही आरोपित उपस्थित भइसकेको उच्च स्रोतले जानकारी दियो । तर भूमाफियाद्वय ढकाल र सुवेदी ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिन सुरु भएसँगै भागिसकेका छन् । बालुवाटारको जग्गा हिनामिनासम्बन्धी आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एकसाथ अनुसन्धान गरिरहेका छन् ।

ब्युरोलाई दुई महिनाभित्र अनुसन्धान सक्न सरकारले निर्देशन दिए पनि समय अपुग देखाएर थप दुई महिना समय दिइएको छ । बालुवाटारको जग्गा हडप्ने भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा भूमाफियाद्वय ढकाल र सुवेदीलगायतमाथि कालोधन जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन सुरु गरिसकेको छ । नागरिक दैनिकबाट