विराटनगर,२३ पुस । मोरङको विराटनगर महानगरपालिका -९ स्थित सरस्वती माद्यामिक विद्यालयले आइतबार मात्रै १ सय भन्दा बढी विद्यार्थीलाई परिक्षा दिनबाट बञ्चित गरेको विषयले अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई परिक्षा शुल्कवापत डेढदेखि दुई सय रुपैयाँ उठाउने गरेको र उक्त रकम नतिरेको भन्दै विद्यार्थीलाई परिक्षा हलबाट निकालेको विषय आपत्तिजनक भएको जनाएको हो ।
अनेरास्ववियूकी अध्यक्ष आरती लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत ‘विद्यालय प्रशासनले विद्यार्थीसँग गरेको यो व्यवहार संविधानमा कक्षा एक देखि १२ सम्मको शिक्षा नि:शुल्क हुने व्यवस्थामाथिको प्रहार भएको हाम्रो ठहर छ’, अनेरास्वयूले भनेकाे छ ।
अनेरास्ववियूले सरस्वती माध्यामिक विद्यालयलाई संविधानविपरीतको आफ्नो कदम तुरुन्तै सच्याउन र विद्यार्थीलाई परीक्षामा सामेल गराउन विशेष अनुरोध गरेकाे संगठनकी अध्यक्ष आरती लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमार्फत समाजवाद निर्माणको दिशातर्फ उन्मुख भइरहेको अवस्थामा राज्यका सबै संरचनाले संविधानको अक्षरंश पालना गर्नुपर्ने संगठनको ठहर रहेकाे जनाएकाे छ ।
संगठनले सरस्वती माध्यमिक विद्यालय मात्रै नभएर देशभरिका कुनै पनि सरकारी विद्यालयले यसरी संविधानको भावना उलंघन गर्न नपाउने र विद्यार्थीलाई दुःख दिन बन्द गर्नुपर्ने कुरामा सचेत हुन सबैलाई विज्ञप्तीमार्फत नै आग्रह पनि गरेको छ ।




















