काठमाडौं, २३ असार । प्रतिबन्धित कस्तुरीको बिनाको कारोबार गरेको आरोपमा पूर्वमन्त्री दीनानाथ शर्माका अंगरक्षक प्रहरी हवल्दार बमबहादुर चन्द पक्राउ परेका छन् ।
नेपाल प्रहरीको सुरक्षा महाशाखामा कार्यरत रही शर्माको अंगरक्षकका रुपमा खटिएका हवल्दार चन्दलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले कस्तुरीको बिनासहित पक्राउ गरेको हो । प्रहरी हवल्दार चन्द सुकेधाराको डाँफे रेष्टुरेण्टबाट आइतबार साँझ पक्राउ परेका हुन् । पूर्वमन्त्री शर्माको सुरक्षाका लागि खटिएका उनको साथबाट प्रहरीले हतियार पनि बरामद गरेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले शर्माको अंगरक्षकलाई नियन्त्रणमा लिएको पुष्टि गरे । एक जना प्रहरी हवल्दार पक्राउ परेको जानकारी भएको र कारण भने भोलि मात्रै थाह हुने उनले बताए । नागरिक दैनिकबाट



















