काठमाडाैं - जलवायु परिवर्तनको असरका कारण नेपाल कुनैपनि बेलामा ठूलो क्षति हुने देश भएको छ । विश्व सामाजिक मञ्चमा सहभागी विज्ञहरुले यसबारेमा समयमा नै आवश्यक ध्यान दिनुपर्ने बताएका छन ।
उनीहरुले जलवायु परिवर्तनको असरबाट हुने क्षति न्युनिकरणका लागि समयमा नै सरकारले स्थानीय तहमा डिजास्टर लर्निङ सेन्टरहरु स्थापना गर्न आवश्यक रहेको बताए। कार्यक्रममा बोल्दै गैरसकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले नेपालले क्लाइमेट फाइनान्स र क्लाइमेट जस्टिसका कुराहरुलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताए ।
उनले जलवायु परिवर्तनको असरका कारण नेपालमा कुनैपनि बेला ठूलो क्षति हुनसक्ने सम्भावना रहेको भन्दै सरकारले स्थानीय तहमा डिजास्टर लर्निङ सेन्टरहरु स्थापना गर्न आवश्यक भएको बताए । उनले स्थानीय तहसम्मै सहायता कक्षहरु स्थापनाका लागि नेपाललाई अन्तर्राष्ट्रिय सहायताको आवश्यकता रहेको उल्लेख गरे । उनले स्थानीय तहलाई अझै बलियो बनाएर उद्धार र राहतको लागि स्थानीय तहमा शक्ति प्रदान गर्न संघीय सरकारसँग पहल गर्नुपर्ने आवश्यकता रहेको बताए ।
यता, केयर नेपालकी प्रतिनिधि मोना शेर्पाले जलवायु परिवर्तनबाट भएको विपद् र जोखिम न्युनिकरणका लागि स्थानीय स्तरमा भएको ज्ञान, अनुभव, शक्ति, सीपको प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय श्रोत साधनको प्रयोग बिना प्रविधिको प्रयोग गरेर र राज्यले मात्रै काम गरेर समस्याको समाधान ननिस्किने बताए। उनले स्थानीय तहमा मानवीय सहायताका विभिन्न मञ्चहरुको स्थापना गरी शक्ति सञ्चालन गर्न आवश्यक रहेको पनि बताए । उनले स्थानीय परिवेश बुझेका मानिसहरुको साथ र सहयोग बिना जलवायु परिवर्तनले समाजमा पारेका असरको न्युनिकरण गर्न नसकिने बताए ।
यता अक्सफार्म कार्यक्रम तथा साझेदारी प्रमुख निमा श्रेष्ठले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि स्थानीय शक्तिको प्रयोग गर्न आवश्यक रहेको बताए । उनले स्थानीय तहको नेतृत्व विकास भएमात्रै स्थानीय तहमा आइपर्ने सम्भावित समस्याको क्षति न्युनिकरण गर्न सकिने बताए । उनले स्थानीय तहको जनशक्ति तयार पार्दा भाषा, संस्कृति, स्थानीय अवस्थालाई बुझ्ने भएकाले सोहीअनुसारको जनशक्ति बनाइ जलवायु परिवर्तनका कारण समाजले व्यहोर्नुपरेको असर न्युनिकरण गर्नुपर्ने बताए ।
उनले जलवायु परिवर्तनका कारण नेपालमा पछिल्लो समय विपद्जन्य घटनाहरु बढीरहेको पनि बताए ।




















