काठमाडौं -   डोटीको जोरायल गाउँपालिका–५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् । स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्  । उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका हुन् । उक्त दम्पतीका तीन छोरी र एक छोरा छन् । भाटको माइती सुर्खेत हो । धेरै पहिले खड्का र भाटले लामो प्रेम सम्बन्ध सँगै बिताए ।

उनीहरूबाट सन्तानसमेत भए । श्रीमतीको रूपमा घर भित्र्याएका भाटको खड्काले सिउँदो भने भरेका  थिएन । जोरायल–५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ । सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिका सदस्यसमेत रहेका मुकुन्द भण्डारीले बताए ।

खड्काका सखा ८१ वर्षीय डिल्लीराज भण्डारी आफ्नो बाल सखाको बिहेमा बुढेसकालमा सहभागी हुन पाउँदा खुसी छन्  । उनले यो विवाह नौलो लागेको र रमाइलो पनि लागेको बताए । विवाहमा बेहुला–बेहुलीका पनातिसमेत सहभागी थिए । खड्का पडरे देउताका भणारेसमेत हो । सोही सप्ताहमा चार वटा व्रतबन्ध, तीन वटा कपाल मण्डन, पास्नी कार्यक्रमसमेत सम्पन्न भएका छन् । महायज्ञका पुजारी श्रमानन्द ओझाले उक्त दम्पतीको विवाह सम्पन्न गर्नुभएको हो ।