सुनसरी - सुनसरीको धरान नगरपालिका ६ स्थित पानबारीमा मानव बसोबास भएको सय वर्षं पुगेको अवसरमा शतबार्षिकी पानबारी महोत्सव शुरु भएको छ । शनिवार देखि शुरु भएको उक्त महोत्सवको कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमको अवसरमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले यस वडालाई विभिन्न नामले बोलाइने भएपनि अबदेखि पानबारी भन्ने औपचारिकरुपमा घोषणा गरेका थिए । पुरानो नाम पानबारी भएपनि कसैले पानमारा, कसैले पानवारी भन्ने गरेको थियो । अबदेखि भने बोलीचाली र कागजपत्रहरुमा समेत पानबारी मात्र लेखिने उनले बताए ।
साबिक पाँचकन्या गाविसमा रहेको पानवारी करिव सात वर्ष अघि धरान नगरपालिकामा जोडिएको थियो ।
सयपत्री ब्वाइज युनियन क्लबको आयोजनामा भएको महोत्सवस्थलमा पानबारीको पहिचान झल्काउने पानको स्टल पनि राखिएको छ । किंबदन्ती अनुसार उहिल्यै माथिल्लो पहाडी क्षेत्रको राजारानी भन्ने ठाउँमा दरबार थियो । तलको समथल भुभाग (हालको पानबारी)मा पानको खेती हुने र त्यहाँको पान राजालाई औधी मन पथ्र्यो । पानको खेती भएको उक्त क्षेत्रलाई नै पानबारी भनिएको किंबदन्ती छ ।
कृषियोग्य जमिन भएको पानबारीमा अहिले भने पानको खेती हुन छोडेको छ । विकास र सहरीकरणको चपेटामा परेको पानबारीको केही क्षेत्रमा अहिले पनि धान खेती हुन्छ । यहाँको पानमारा ब्राण्डको मन्सुली चामल देशभर प्रख्यात छ । यहाँ उखु खेती पनि हुनेगर्छ । महोत्सवमा पानको स्टलसँगै उखु, चामल, गुन्द्रक, किनिमालगायत स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तुहरुको स्टल पनि राखिएको छ । भने प्रत्येक साँझ सांगीतिक कार्यक्रम पनि हुने महोत्सव आइतबार साँझ चर्चित गायक कमल खत्रीको प्रस्तुती रहने आयोजक सयपत्री ब्वाइज युनियन क्लबले जानकारी दिएको छ ।
महोत्सवसँगै शनिबारदेखि छैटौ पानबारी भलिवल कप पनि शुरु भएको छ । महोत्सवस्थलमा रस्सीतान, रोटेपिङ, ड्रागन, नाउ जस्ता मनोरञ्जनका साधनहरु पनि रहेका छन् ।




















