विराटनगर - विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी मुनलाइट गर्ल्स होस्टेलकी संचालक मधु रेग्मी अस्पताल भर्ना भएकी छिन् ।
प्रहरीले हिरासतबाट म्याद थप गर्न अदालत लैजाने क्रममा प्रेसरको समस्या देखिएकाले अदालतबाट म्याद थप गरी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
हाल उनको प्रहरीको निगरानीमा कोशी अस्पतालमा उपचार भइ रहेको र अस्पतालले डिस्चार्ज दिएपछि हिरासत कक्षमा ल्याइने प्रहरीको भनाइ छ ।
रेग्मीले मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात र दुर्व्यवहार गरेकी थिइन् । दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा आएपछि र अनेरास्ववियु लगायत विद्यार्थीहरुको बिरोधपछि रेग्मीलाई बुधबार पक्राउ गरिएको थियो ।
होस्टल संचालिका रेग्मीले होस्टेलमा बसिरहेका विद्यार्थीबाट अग्रिम भाडा रकम दिन नमानेको भन्दै विद्यार्थीका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् ।दुर्व्यवहारमा पर्ने छात्राहरूमा विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कञ्चनपुर घर भएका विद्यार्थीहरू हुन् ।
होस्टेलमा फागुन ३ गतेदेखि उनीहरू बसिरहेका थिए । उनीहरुले ३ चैतसम्मका लागि अग्रिम ८ हजार रुपैयाँ बुझाएको बताएका छन् । उनीहरू बुधवारदेखि नै मुनलाइट गल्र्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए ।
३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन—तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने अडान लिएका थिए । होस्टेल सञ्चालकले हातपात गरेको दृश्य भिडियोमा समेत देखिएको छ ।


