काठमाडाैं — तेह्र दिनअघि श्रीमानको शव दहन गर्ने चार हजार रुपैयाँ पनि नभएर बिजोगमा रहेकी माइली राईलाई १३ दिनमा २० लाख सहयोग जुटेको छ ।
नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटारकी ५६ वर्षीया माइली राईको लागि १३ दिनमा देश बिदेशबाट सहयोग स्वरुप सो रकम जुटेको हो । श्रीमानको शव दहन गर्ने बेला चार हजार रुपैयाँ पनि साथमा नभएकी उनीसँग अहिले २० लाख रुपैयाँ र २५ बोराभन्दा धेरै चामल, साथै दाल, तरकारी, चना, केराउ आदि जम्मा भएको छ ।
देशविदेशबाट सहयोगस्वरूप प्राप्त रकम सदुपयोग गर्ने बताउँदै माइलीले अब गाउँ गई जग्गा किनेर खेती गर्ने योजना सुनाइन् ।
१३ दिनको किरिया सकेलगत्तै गाउँ जाने र नागरिकता लिने योजना उनको छ । नागरिकता लिएपछि बैंक खाता खोल्ने उनले बताइन् । आफूलाई दाताहरूले दिएको सहयोग रकमले गाउँमा जग्गा खरिद गर्ने र बस्ने घर बनाउने उनको योजना छ । बाँकी जग्गामा खेती गर्ने उनले जानकारी दिइन् ।
पुर्ख्यौली सम्पत्तिका नाममा गाउँमा उनको आठ आना मात्रै जग्गा छ । त्यो पनि दाजुभाइले कमाउँदै आएका छन् ।
करिब ३० वर्षअघि उनी श्रीमानसँगै काठमाडौं आएकी थिइन् । जीवन गुजार्ने क्रममा उनले काठमाडौंमा अनेक हन्डर खाइन् । पटक–पटक गाउँ फर्कन मन नलागेको होइन । तर, गरिखाने जग्गा नै नभएपछि परिवारसँगै अनेक कष्ट सहेर काठमाडौंमै बस्न बाध्य थिइन् । देशविदेशबाट जुटेको सहयोगले अहिले उनमा उर्जा र उत्साह थपिएको छ । कष्टकर जीवनबाट थोरै भए पनि मुक्ति पाउने आशा उनमा पलाएको छ ।
आर्थिक तनावकै कारण जेठा छोराले गरेका थिए आत्महत्या
माइलीका श्रीमान् ठमेलमा रिक्सा चलाउँथे । उनलाई मदिरा पिउने गलत आदत थियो । कमाइ राम्रो थिएन । बिहान–बेलुकाको छाक टार्न माइली साहुको घरमा भाँडा माझ्थिन् । कहिले ज्यामी काममा खटिन्थिन् । रकम अभाव हुँदा छोराछोरीलाई पढाउन सकिनन् । तनावकै कारण जेठा छोराले आत्महत्या गरे ।
उनको एक सन्तान माइलीकै संरक्षणमा छ । बुहारीले अर्काे विवाह गरिसकिन् । विवाहित जेठी छोरीको पनि घरबार बिग्रियो । उनीतर्फको छोराछोरी पाल्ने जिम्मेवारी पनि माइलीलाई नै छ । त्यसबाहेक कान्छा छोरा र छोरी उनीसँगै बस्छन् । उनीहरू दुवै बेरोजगार छन् । गत २६ फागुनमा उनका श्रीमान् ५७ वर्षीय पाण्डव राईको निधन भएको थियो ।
माइलीको दुःखमा सहयोग गरेका बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्य अहिले माइलीलाई देशविदेशबाट सहयोग आएको देखेर दंग छन् । आर्यघाटमा भेटिएका उनले भने, ‘माइलीका लागि देशविदेशका जनता भगवान् बनेर आइदिए । उनलाई सहयोग ओइरिन थाल्यो । यस्तो होला भन्ने सोचेको पनि थिइनँ । जे भयो राम्रो भयो । यसले माइलीलाई उत्साह भरिदिएको छ । बाँच्ने आधार खडा गरिदिएको छ ।’नयाँ पत्रिकाबाट




















