तीन दिनअघि होली खेलेर सुनकोसीमा नुहाउन गएका उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका तीन बालबालिका अझै फेला परेका छैनन् । 

 आइतबार पौडी खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका तीनजना बालबालिका अझै फेला नपरेका हुन् ।

बेपत्ता हुनेहरुमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बरऔ १४ साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर छन्।  पौडी खेल्न गएका सात वालवालिका मध्ये अन्य ४ बालबालिकालाई  स्थानीयले सुनकोसी नदीबाट उद्धार गरेका थिए।

आइतबार राति अबेरसम्म सशस्त्र प्रहरी बल नम्बर ५ त्रियुगा गण उदयपुरले बालबालिकाको खोजी गरेको थियो।  राति अबेलासम्म  खोजतलास गरे पनि बेपत्ता बालबालिकालाई फेला पार्न नसकेपछि सोमबार पनि  बिहानैबाट फेरि खोजी सुरु गरिएको थियो । तर सोमबार पनि उनीहरू फेला नपरेपछि शसस्त्रको टोली फर्किएको छ ।

बालबालिकाको खोजतलास गर्न सशस्त्र प्रहरी बल नम्बर १ बाराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएकोमा करिव २ किलोमिटरसम्म पानी जमेको सबै स्थानमा खोजी गर्दा समेत नभेटाएपछि खोजतलास टोली फर्किएको उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।  मंगलबार पनि प्रहरी परिचालन गरी खोजी जारी राखिएको घिमिरेले जानकारी दिए ।