विराटचोक —सुन्दरहरैँचाको एउटा ठूलो सहकारीमा चोरी डकैती भएको आठ दस दिनभित्रै बेलबारी ३ मा रहेको अर्को सहकारीमा पनि डकैती भएको छ ।बेलबारी ३ मा अबस्थित लालीगुराँस बचत तथा ऋण सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको कार्यालयमा शुक्रबार राति चोरी भएको छ ।
कार्यलयको पछाडिपट्टिको वालबाट कम्पाउण्डभित्र छिरेका चोर भुँईतलामा रहेको झयाल र अगाडीको सटर फोडेर भित्र छिरेको पत्ता लागेको छ । चोरले भुइँ तला र तलामा पसेर पैसा चोर्न प्रयास गरेको र सिसी क्यामेराको डिभाईस (डिभिआर) लगेको लालीगुराँसको बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा गौतमले जानकारी दिए ।
चोरले लालीगुराँसको भल्ट फुटाएको र भल्टमा रहेको केही रकम लगेको अनुमान गरेको थियो तर प्रहरीले शनिबार दिउँसो भल्ट खोलेर हेर्दा भल्टमा रहेको दुई तीन हजार रुपैयाँ पनि सुरक्षित रहेको र साबधानीका कारण पनि ठुलो क्षति नभएको गौतमले बताएका छन । चोरीका सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । सहकारीले चोरीको घटनाबारे एक प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।
चैत ७ गते राति सुन्दरहरैँचा १० खोर्सानेमा रहेकोे हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. को कार्यालयमा पनि यही शैलीमा चोरी डकैती भएको थियो ।
हातेमालो सहकारीमा चोरी गर्दा पनि चोरहरु पछाडिबाटै छिरेका थिए । शुरुमा चोरहरु हातेमालो सहकारीको पछाडि रहेको आल्मुनियमको झ्याल र ग्रील निकालेर सुन्दरहरैंचा नगरपालिका १० को वडा कार्यालय प्रवेश गरेका थिए । हातेमालो सहकारीकी प्रबन्धक योजना शर्माका अनुसार त्यहाँ पनि अर्को झ्याल निकालेर चोरहरु सहकारी प्रवेश गर्ने गेटमा पुगी चेन गेट फुटाएर सहकारीको कार्यालय पुगेको अनुसन्धानबाट खुलेको छ ।
हातेमालो सहकारी चोरी भएको भोलिपल्ट मात्रै पत्ता लागेको थियो । भोलिपल्ट कर्मचारीहरु कार्यालय आउँदा सेफ लाडाएको र दुई चारवटा फायल भुइँमा झारेको देखेपछि कर्मचारीले चोर पसेको थाहा पाएका थिए । हातेमालो सहकारीमा पसेर चोरले सी सी क्यामेराको तार चुँडाएको र चोर पत्ता लगाउन नसकुन भनेर डिभिआर लगेको प्रबन्धक शर्माले बताइन् ।
चोरीपछि हातेमालो भन्दा उत्तरपट्टि रहेको सिद्दार्थ स्कुलको सीसी क्यामेराबाट हेर्दा ३ जना चोर देखिएका थिए तर पनि तिनको पहिचान हुन सकेको छैन । पैसा अफिसमा नराखिने भएको चोरले सेफमा रहेको ४ हजार ३ सय २० रुपैया खुद्रा मात्र लैजान पाएको प्रबन्धक शर्माले जानकारी दिइन्।
त्यसो त् हातेमालो सहकारीमा चोरी भएको यो तेस्रोपटक हो। यसअघि २०६६/०६७ सालतिर तिर पहिलोपटक आफ्नै भवनमा सर्ने बित्तिकै चोरीको प्रयास भएको थियो। तर त्यसबेला सेफ नभएकोले चोरले पैसा लैजान।पाएनन् । दोस्रोपटक २०७१/०७२ सालतिर सासै सहकारीबाट चोरले सेफ फुटाएर १ लाख १५ हजार लगेका थिए ।
केहि समयअघि लेटाङको एक सहकारीबाट १३ लाख चोरी भएको थियो । त्यसैताका झोराहाटको एक सहकारीमा पनि चोरी भएको थियो । त्यस्तै बेलबारी १० को जनप्रेमी बचतमा पनि चोर पसी भल्ट फुटाउने प्रयास गरेका थिए । सहकारीमा निरन्तर चोरी हुने र चोरले नयाँ नया शैली अपनाएपछि प्रहरी प्रशासनलाई चुनौती थपिएको छ।




















