झापा  — दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन्। चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ।

कार्यालयका प्रमुख मेघराज राईका अनुसार यही साता मात्र जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ। गत शुक्रबार राति कमल गाउँपालिका–५ की ५८ वर्षीया खड्गमाया माबो, र बुधबार साँझ शिवसताक्षी–११ का ६० वर्षीया पवित्रा भेटुवालको हात्तीको आक्रमणम मृत्यु भएको उनले जानकारी दिइन्।

एक सातामै छिमेकी पालिकाका दुई महिलाको मृत्यु भएपछि स्थानीयवासी त्रासमा छन्। हात्तीले कुन बेला कसलाई आक्रमण गर्ने हो भनेर रातभर निदाउन नसकिरहेको कमल–५ की ७० वर्षीया रुमा सुब्बाले बताए।

जिल्लाका १५ वटै पालिका हात्ती प्रभावित क्षेत्रमा पर्छ। जसमध्ये यस अवधिमा दमक नगरपालिकामा एक जना, शिवसताक्षीमा दुई जना, हल्दिबारीमा दुई जना र कमल गाउँपालिकामा एक जनाको हात्ती आक्रमणबाट मृत्यु भएको छ।

पछिल्लो समय झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको छ। भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका २९ वटा जङ्गली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन त्रस्त बनेको छ। हाल तीन जिल्लामा ६० वटाभन्दा बढी जङ्गली हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। रासस