बिर्तामोड —   तराईमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व शुक्रबारदेखि सुरु भएको छ । पूर्वी तराईको झापा, मोरङ सुनसरीलगायतका जिल्लामा आदिवासी समुदायले आजदेखि सिरुवा पर्व मनाउँदैछन् ।

तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् ।  वैशाख १ गतेदेखि सुरु हुने यो पर्व तीन दिनसम्म चल्छ ।

नयाँ वर्षसँगै शुरु हुने पर्वका अवसरमा आज झापाका राजवंशीले जल अर्थात् पानी सिरुवा खेल्दैछन् । एक आपसमा पानी छ्यापेर जल सिरुवा मनाउने गरिन्छ । त्यस्तै भोलि बैशाख २ गते माटोको हिलो बनाएर हिलो छ्यापा–छ्याप गरेर काद सिरुवा खेल्ने गरिन्छ । लगातार ३ दिनसम्म मनाइने सिरुवाअन्तर्गत सो समुदायले पर्सी बैशाख ३ गते रङ्ग सिरुवा खेल्नेछन् ।

12480988273692038950राजवंशी समुदायले सिरुवा पर्वलाई प्रमुख चाडको रुपमा मनाउने गर्दछन् । यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ । पर्वको अवसरमा यी जिल्लाहरूमा विशेष सांस्कृतिक कार्यक्रमहरूसहित सिरुवा मेला पनि लाग्ने गर्दछ ।

यस्तो छ किवदन्ती 

 यो पर्वको साइनो समस्त भारतको वैशाखी, डोटी-बैतडीको बिसु पर्व र आसामको विहुसम्म जोडिएको पाइन्छ। यसो भए पनि शिरुवा अथवा विच्छु महोत्सव भन्नासाथ थारू समाजमा प्रचलित अति प्राचीन धामीहरूका आभास गराउँछ। यो धामीवाद नेपालका पहाडको मस्टोवाद सॅग पनि अनेक दृष्टिले तुलनीय हुन पुगेको देखिन्छ। 

यो पर्वको तयारीमा मानिसहरू १० दिन पहिलेदेखि नै लागि आफ्नो घर आँगन लिपपोत र साफासुग्घर गर्दछन्। शिरुवाको अघिल्लो दिन अर्थात् चैत्र मसान्तको दिन सातु र गुँड आफ्नो कूल देवतालाई चढाइन्छ। आँपको टिकला पनि आफ्ना गृहदेवतालाई थारूहरूले चढाउँछन्। साथीभाइसँग परस्परमा रंग अबीर पनि खेल्छन्। बेलुका पुरी, वरी, खवौनी, डुवौवा सोहारी, सोहारी, कचौरी, बैगनी तथा अन्य किसिमका तरुवा भुजुवाका परिकारहरू बनाएर सानो-ठूलोको भेदभाव नगरी खाइन्छ। 

त्यस दिन भोलिका लागि पनि पुग्ने किसिमले परिकारहरू बनाइएका हुन्छन्। किनभने "चैतके रान्हल वैशाखमे खाना" अर्थात् चैत्रमा बनाई वैशाखमा खाने भन्ने लोकोक्ति बमोजिम सतवानीको दिन बनाइएका परिकार शिरुवाका दिन खाने चलन पूर्वाञ्चलका थारू समाजमा निकै प्रचलित छ। शिरुवाका दिन (वैशाख १ गते) बिहानै घरका जेठा व्यक्तिले आफ्नो गृहदेवता, ग्रामदेवता र अन्य देवताहरूमा पवित्र जल चढाइ अन्य कुटुम्वहरूलाई पनि जलले टाउकोमा थप्थपाई आर्शीवाद दिने चलन छ। सानाले भने ठूलालाई खुट्टामा जल चढाई ढोग्ने चलन छ।

 देवतालाई जल चढाउँदा वर्षभरिको समय सुखद रहोस् भन्ने कामना गर्दै आशीर्वाद माग्दछन्। यस कि्रयालाई नै थारूहरूले आफ्नो भाषामा जुडी शितल भन्ने गर्छन्। मोरङ जिल्ला थारूहरू हिलो र गोबर एकार्कालाई छ्यापी जुडी शितल पनि खेल्ने गर्दछन्।