तेह्रथुम  —  हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो रु ६० थियो । अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ ।

प्रतिकेजी दुई रुपैयाँ ५० पैसा प्रतिमहिना भाडा तिरेर माघको अन्त्यतिर शीतभण्डारमा राखेको दुई महिनामै स्थानीय बजारमा सुन्तलाले तीन गुणा बढी मूल्य पाउँदा किसानलाई फाइदा भएको म्याङलुङ-२ की मेनुकाकुमारी श्रेष्ठले बताइन्।‘हिउँदमा सुन्तला बिक्री नभएर बगानमै कुहिने अवस्था थियो। बिक्री भइहाले पनि रु ५० किलो व्यापारीले मागिरहेका थिए। अहिले तीन गुुणा बढी मूल्य पायो हामी खुसी छौं,’ श्रेष्ठले भने।

कोशी प्रदेश सरकारको रु तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको रु एक करोड ३० लाख साझेदारीमा म्याङलुङ–९ साब्लामा एक हजार मेट्रिक टनको शीतभण्डार सञ्चालनमा छ ।