विराटचोक — मोरङको छुट्टा छुट्टैस्थानमा सवारी सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आइतबार केराबारी र पथरीशनिश्चरेमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार  पथरीशनिश्चरे नगरपालिका–१ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको छ । प्रहरीका अनुसार पथरीबाट लेटाङको जाँतेतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ७२१५ नम्बरको मोटरसाइकल दिउँसो ४ः३० बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

डीएसपी बस्नेतका अनुसार दुर्घटनामा मोटरसाइकल चालक लेटाङ नगरपालिका–८ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको छ । गम्भीर घाइते भएका दिपेशलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । उपचारका क्रममा साँझ ६ बजेतिर चिकित्सकले मृत घोषित गरेको बस्नेतले बताए । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार दिपेशकी पत्नी २१ वर्षीया ललिता राई (मगर) घाइते भएकी छन् । गम्भीर अवस्थाकी उनलाई मदन भण्डारी अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । 

त्यस्तै डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मदन भण्डारी लोकमार्गअन्तर्गत केराबारी गाउँपालिका–५ बगैंचा चोकमा बा ११ च २९२८ नम्बरको पिकअप भेनले प्रदेश १–०२–००२ ह ९२४४ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको थियो । दिउँसो २ः४५ बजेतिर दुर्घटना हुँदा अटो चालक केराबारी–६ का ४५ वर्षीय मेखबहादुर मगरको मृत्यु भएको छ । 

गम्भीर घाइते भएका मगरलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए ।  उनका अनुसार सोही दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । पिकअप चालक मोरङको बूढीगंगा गाउँपालिका–२ का ३२ वर्षीय शिवकुमार ऋषिदेव, अटोमा सवार केराबारी–६ की ६० वर्षीया हरिमाया मगर, सुनसरीको धरान उपमहानगरपालिका–११ की ३० वर्षीया सीता मगर, सीताकी छोरी १० वर्षीया प्रशुना मगर र छोरा ७ वर्षीय एग्रिल मगर घाइते भएका हुन् ।  

घाइतेमध्ये हरिमायाको अवस्था गम्भीर र पिकअप चालकबाहेक अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । पिकअप चालकको अवस्था सामान्य छ । उनलाई सामान्य उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना परेका दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन् । दुवै स्थानमा भएका दुर्घटनाका सम्बन्धमा अनुसन्धान सुरु भइरहेको डीएसपी बस्नेतले बताए ।