काठमाडौँ  — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नेहरू नै आज टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगेको बताएका छन्  ।  नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित दुई दिने राष्ट्रिय महिला भेलाको उद्घाटन समारोहमा  सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेलाई ध्वस्त बनाउन खोजिएको बेलामा महिला र युवाहरू पार्टीको झण्डा बोकेर अग्रमोर्चामा उत्रिएको विगत स्मरण गर्दै पार्टीलाई बचाउन महिला, युवा र नयाँ पिंढीको असाधारण भूमिका रहेको बताए  । 

441889578_472794315232917_5280019235771329923_nनेपालमा महिला सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि प्राप्त भएको बताउँदै अध्यक्ष ओलीले कुन अवस्था पार गरेर हामी अहिलेको अवस्थामा आयौं भन्ने थाहा नहुनेहरूले ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन’ भन्ने गरेको बताए  । 

सामाजिक न्याय र समानताको आन्दोलनमा नेकपा (एमाले)ले नेतृत्व गर्दै आएको बताउँदै अध्यक्ष ओलीले महिला अधिकारको आन्दोलन महिलाको मात्र नभई पुरुष र सिङ्गो समाजको आन्दोलन भएकोमा जोड दिए। 

‘सबै क्षेत्रमा महिला सहभागिताबाट खुशी छौं तर सन्तुष्ट र सुखी भएका छैनौं’ चर्चा गर्दै उनले भने – हाम्रा आकाङ्क्षाहरू पूरा भइसकेका छैनन् त्यसैले उपलब्धिबाट सन्तुष्ट भइसकेका छैनौं, पूर्ण सन्तुष्ट हुनका लागि अनवरत गन्तव्यमा लागिरहने छौं ।  

अध्यक्ष ओलीले साना–साना सहकारीको  प्रवर्द्धन र उद्यमशीलताको विकास गर्दै समृद्धिमा अगाडि बढ्न भेलामा सहभागी महिला नेतृहरूलाई आग्रह गर्नुभयो । उहाँले हरेक महिलाले केही न केही नयाँ उत्पादन गरेमा नेपालीहरू स्वावलम्बी बन्न सक्ने बताए । 

अध्यक्ष ओलीले भने – लगानी धेरै नगरेर पनि उद्यमशीलता बढाउन सकिन्छ । महिला आन्दोलनको एउटा अभिष्ट यो पनि हो । उनले नियममा बस्ने सहकारीमा कुनै समस्या नभएको र ठगहरू प्रवेश गरेका केही ठूला सहकारी सङ्कटग्रस्त भएको बताए । 

442490618_474218011833742_5702182776600583985_nअध्यक्ष ओलीले भने – अहिले सहकारीमा गैर सहकारीवालाहरू, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी बदनाम भएका छन् । समस्याग्रस्त,सङ्कटग्रस्त छन् तर, साच्चैका सहकारीहरू सङ्कटग्रस्त हुँदैनन्, छैनन् । सरकारीको नियम पालना गरेर अगाडि बढ्नुपर्छ, कुनै समस्या हुँदैन ।

राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर आयोजना गरिएको राष्ट्रिय महिला भेलाको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्  । 

भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलनले महिला अधिकारका क्षेत्रका धेरै उपलब्धि हासिल गरेको चर्चा गर्दै कतिपय विषयहरू कार्यान्वयनमा अझै कमजोरी रहेको बताइन  । 

उनले महिला अधिकारका लागि योगदान गर्नुभएका अग्रजहरूप्रति सम्मान प्रकट गरिन । 

उद्घाटन समारोहमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रममाथि प्रकाश पारेका थिए ।

अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्रा हमालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कार्यपत्र तयारी समितिका संयोजक विद्या भट्टराईले भेलामा छलफल गरिने ‘महिला आन्दोलनका उपलब्धि र भावी दिशा’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्  । 

444458062_474219225166954_6466532338459853560_nपार्टीका केन्द्रीय सदस्य रचना खड्काले कार्यक्रमको सहजीकरण गरेकी थिइन्  । उनले भेलाको दोस्रो दिन भोलि महिला अधिकार, कार्यान्वयनको अवस्था, भावी दिशा र समसामयिक विषयहरू जलबायु परिवर्तन, आप्रवासन, बसाइँसराइ लगायतका समस्या समेटेर तयार गरिएका प्रश्नावलीका आधारमा समूहगत छलफल हुने बताइन  । 

भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधिको सहभागिता रहेको छ ।

442470038_474217968500413_8140399006136104628_n