काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गिरिबन्धु टी–इस्टेट बेचेर खान नपाएपछि गलत प्रचार गरेर स्यालहुइँया मच्चाइरहेको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।
नेकपा(एमाले) भक्तपुर जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारीहरुलाई तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले कानुन, नियम बिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टी–इस्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको आरोप पनि लगाए ।
उनले नेकपा एमालेलाई देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले आक्रमण गरिरहेको बताए । उनले पशुपतिमा १०८ किलो सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोड टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गरे ।
‘एउटा स्याल कराइसक्यो, अर्को स्याल निस्किएर कराउँछ । एउटा करायो, पशुपतिमा १०८ किलो सुन भनेर केपी ओलीले पित्तल चढायो, छानबिन गरी पाउँ भनेर । पशुपतिमा चढाएको जलहरी भत्काएर, तौलिएर, सुन हो कि होइन घोटेर उधुम गरे । सुनै चढाएको रहेछ । कहाँ गयो त्यो कराउने अहिले ?’
उनले भने, ‘अर्को करायो कम्बोडियामा तीन हजार करोड लगेर टेलिकममा राखेको छ रे ! कहाँ गयो, त्यो अचेल, फिर्ता ल्याए भयो नि, त्यो पैसा । उनीहरुको सरकार थियो, अस्तिसम्म । किन ल्याएन फिर्ता । अहिले गिरिबन्धु टी–स्टेट भनेर कराएका छन् । गिरीबन्धु टी–स्टेटमा एक पटक ५१ र अर्को पटक १९ बिघा गरेर ७० बिघा कानुन, नियम बिना बलजफ्ती बिक्री गरेर तिनै तत्वहरुले खाएका थिए । गिरिबन्धु टी–स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानुन हामीले बनायौं, कानुन बनाएपछि नियम कानुनभित्र बस्नुप¥यो, बेचेर खान नपाइने भयो भनेर स्यालहुइँया मच्चाएका छन् ।’
उनले वैचारिक संघर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताए । ‘केपी ओलीले त्यो र यो गर्यो भनेर । यो किन हुन्छ भने हाम्रो पार्टीसँग वैचारिक संघर्ष गर्न सक्दैनन् । देश बनाउने कसरी त्यो आइडिया छैन । अनि एमालेलाई बदनाम गर्ने । यिनीहरुले यो काम गरो भन्ने त छैन नि ! एउटा सिन्को भाँचेको छ, यिनीहरुले देशका लागि,’ उनको भनाइ थियो । अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको भन्दै फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको बताए । उनले मिसन ०८४ देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पु¥याएर देशको विकास गर्नका लागि रहेको दाबी गरे ।




















