भद्रपुर — झापामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई हत्यारा भन्ने चार जना राजावादीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा विमान रद्द भएर राति बास बस्नका लागि मेचीनगर ८ स्थित होटेल मेची क्राउनतर्फ जाने क्रममा राजावादीहरूले प्रचण्डलाई हत्यारा भनेका थिए । त्यसपश्चात् माओवादी केन्द्रका कार्यकर्ता र राजावादीहरुबीच विवाद भएको थियो ।

पूर्व राजा ज्ञानेन्द्र साहलाई बिदाइ गर्न विमानस्थल आएका राजावादीको समूहका मेचीनगर १० धुलाबारी बस्ने २७ वर्षीय सोना गेलाललगायतले प्रचण्डलाई जथाभाबी भनेको बताइएको छ ।

प्रचण्डलाई हत्यारा भन्ने गेलालसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दीइन । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ भइरहेको उनले बताइन । हाल स्थिति सामान्य रहेको बताइएको छ ।