काठमाडाैं—रवि लामिछाने सहकारी ठगी अभियोगमा सांसदबाट निलम्बित भएसँगै रास्वपामा संसदीय दलको नेता को भन्ने बहस सुरु भएको छ । पार्टीकाे  संसदीय दलको नेता कसलाई बनाउने भन्ने अर्काे समस्या आएको छ । 

पार्टी सभापति तथा संसदीय दल नेता रहेका रवि सोमबार निलम्बित भएपछि रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन् ।

कार्यवाहक सभापति उपसभापति डीपी अर्यालले पाएसँगै संसदीय दलको नेताका आकांक्षीको संख्या थपिएको स्राेत बताउछ । सभापति लामिछानेले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ । हुन त कार्यवाहक सभापति सांसद भएकोले उनै संसदीय दलको नेता हुनुपर्ने थियो ।तर, रास्वपामा त्यसो हुन सकेको छैन ।

संसदीय दलको नेतामा अर्का उपसभापति स्वर्णिम वाग्लेले पनि नजर लगाएकाे स्राेत बताउछ। कार्यवाहक सभापतिको दावीमै रहेका वाग्लेले आफूलाई संसदीय दलको नेता बनाएर पार्टीभित्रको सन्तुलन मिलाउनुपर्ने आशय व्यक्त गर्न थालेका छन् ।

वाग्लेबाहेक सुमना श्रेष्ठले पनि संसदीय दलको नेता हुन खोजेकी छिन् । उनले केन्द्रीय सचिवालयको बैठकमा उक्त कुरा राखिसकेको पनि बताइन्छ । 

‘टीका लगाएर नेता बन्ने होइन, मुद्दा र एजेन्डाका आधारमा हो,’ श्रेष्ठले केन्द्रीय सदस्यहरुको मेसेन्जर ग्रुपमा लेखेकी छन्, ‘म आफ्नो भिजनसहित संसदीय दल नेतामा अप्लाई गर्छु ।’

श्रेष्ठले एक पदाधिकारीलाई ‘मेन्सन’ गर्दै ग्रुपमा यो जवाफ दिएकी हुन् । उनले आफू दाबेदारीबाट पछि नहट्ने स्पष्ट संकेत गरेकी छन् ।

सहमहामन्त्री सुमनालाई संसदीय दल नेता बन्न नदिन रास्वपाकै सांसदहरुले समानुपातिक सांसदलाई दलको नेता मान्दा गलत सन्देश जाने तर्क थालेका छन् । ‘प्रत्यक्ष जितेको सांसद मात्रै दलको नेता बन्छ, स्वर्णिम दाइ बन्न पाउनुभएन भने बरु विराजजी नै बन्नुहुन्छ,’ पार्टी उच्च स्रोतले भन्यो ।

 यता संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठले आफू स्वतः संसदीय दलको नेता हुनुपर्ने धारणा दावी गरेका छन् ।

यी दावेदारको बिचमा डा. चन्दा कार्कीको नाम पनि संसदीय दलको नेताका लागि आएको छ ।  डा. चन्दा कार्कीले पनि संसदीय दलको नेतामा दावी गरेपछि रास्वपमा अहिले संसदीय दलको नेता बन्न ५ जना नेताको हानथाप चलेकाे देखिएको छ ।

संसदीय दलको नेता टुंगो लगाउन बैठक भने कहिले बस्ने भन्ने प्रष्ट छैन । तर, सरकार संसद अधिवेशन बोलाउने तयारीमा रहेका कारण केही दिनमै दलको नेता टुंगो लगाउनुपर्ने अवस्था भने रहेको छ ।

हिरासतमा रहेका सभापति रवि लामिछानेकाे लाइन अनुसार नै संसदीय दलकाे नेता चयन हुन्छ कि सांसदहरूले सर्वसम्म नेता चयन गर्छन् भन्ने प्रश्न रास्वपाभित्र चर्चाकाे विषय नि बनेकाे छ ।