काठमाडौँ—नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पार्टीबाट निस्कासित नेता भीम रावल जत्तिको मान्छेलाई गुमाउन न चाहेको बताएका छन् । एक युट्युबलाई प्रतिक्रिया दिँदै सचिव भट्टराईले पार्टीबाट निकालिएका नेता भीम रावललाई अध्यक्ष केपी शर्मा ओलीसमक्ष आएर सुलह गर्न सुझाव पनि दिएका छन्। ।
गत पुस १० गते एमालेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।
‘म त भीम रावललाई दाइ नै भन्छु, दाइलाई मेरो भनाइ के छ भने तपाईंको निम्ति यो निर्णय अप्रिय होला, अरू पनि कतिपयलाई अप्रिय लागेको होला, एकपल्ट आफैँलाई पनि पुनर्विचार गरेर पार्टी नेतृत्वसँग आएर ‘सुलह’ गर्नु, सुलह भनेको कुनै आत्मसमर्पण गर्नुस् भनेको होइन कि आफ्ना कुराहरू पार्टी नेतृत्वसँग राखेर पार्टीको निर्णय र निर्देशनमा बसेर काम गर्दै जानुस्’, भट्टराईले भनेका छन्, ‘किनभने हाम्रो पार्टीमा भीम रावल दाइ एउटा पुरानो मान्छे हो, बुझेको मान्छे हो। पार्टी पद्धति बुझ्या मान्छे हो। पार्टीको विभिन्न अवसरमा मौका पनि पाउँदै आउनुभएको मान्छे हो। मौका नपाएको मान्छे हैन। र, भोलि पनि यो पार्टीको नेतृत्व गर्ने क्षमता राख्ने मान्छे हो। त्यसैले उहाँको जत्तिको मान्छेलाई गुमाउन हामी पनि चाहँदैनौँ। पार्टीले पनि चाहँदैन। तर कहिलेकाहीँ कुराहरू ठीक ढंगले सम्बोधन नहुँदाखेरि परिस्थिति बिग्रिन सक्छ। त्यसैले उहाँलाई मेरो भनाइ के छ भने सार्वजनिक ढंगले धेरै टिकाटिप्पणी गर्नुभन्दा सम्हालिएर अलिकति समयको परिस्थिति बुझेर पार्टी नेतृत्वसँग बसरे आफ्नो सहमति, असहमति के छन्, त्यसलाई पार्टीको प्लेटफर्ममा छलफल गरेर फेरि पनि पार्टीका कामहरूमा सक्रिय हुने र भाग लिने त्यो बाटोमै जानुपर्छ।’
शब्दकोशका अनुसार सुलहको अर्थः दुई विरोधी पक्षमा झगडा वा लडाइँपछि भएको मेलमिलाप, सम्झौता, सन्धि हो।
यस्तै सचिव योगेशले ६ महिनाका लागि निलम्बनमा परेका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई पनि पार्टीमा आएर अपिल गर्न अनुरोध गरेका छन्।
उनले भनेका छन्, ‘अरू २ जना केन्द्रीय सदस्यहरूको बारेमा पार्टी केन्द्रीय कमिटीको निर्णयमा उहाँहरू पुनरवलोकन गर्न पाउनुहुन्छ। पुनरावेदन गर्न पाउनुहुन्छ। आफ्ना कुरा ठीक छन् भने पार्टी केन्द्रीय कमिटीलाई कन्भिन्स गर्न पनि पाउनुहुन्छ। आफ्नो गल्ती छ भने सुधार्न पनि पाउनुहुन्छ। केन्द्रीय कमिटीको बैठक २१, २२ गते छ। त्योभन्दा अघि उहाँहरूले पार्टी केन्द्रमा अपिल गर्ने ठाउँ छ।’




















