धादिङ—नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद अर्यालको नेत्तृत्वमा समाजवादीका धादिङ जिल्ला तथा स्थानीय तहका नेताहरु एमालेमै फर्किएका छन्।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य अर्याल, जिल्ला कमिटि सदस्य तुलकुमार श्रेष्ठ,हस्तबहादुर तामाङ र सिद्धलेक गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद अर्याल शनिवार देखि एमालेमै फर्किएका हुन्।
कृष्णप्रसाद अर्याल नेकपा एमाले धादिङको स्थापना काल देखिका नेता हुन । समग्र धादिङको पार्टी निर्माणमा अर्यालको महत्त्वपूर्ण भूमिका छ।नेकपा एमालेमा लामो समयदेखि राजनीति गर्दै आएका अर्याल समाजवादीमा लागेर केन्द्रिय सदस्य तथा केन्द्रिय अनुशासन आयोगको सदस्य समेत भएका थिए ।
एमाले प्रवेश गरेका नेताहरुलाई स्वागत गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज खेमप्रसाद लोहनीले आग्रह पूर्वाग्रह नराखी विगतमा पार्टी निर्माणमा योगदान पुर्याएका नेताहरुलाई सम्मानपूर्वक यथोचित जिम्मेवारी दिइने बताए ।
पार्टी प्रवेश कार्यक्रममा एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठीले विगतमा विभिन्न कारणले घर छाडेर अलग भएका नेता कार्यकर्तालाई मुलुकको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा विन संकोच समाहित हुन आव्हान गरे ।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य जानुका सिम्खडा, धादिङका अध्यक्ष भूमी त्रिपाठीका साथै नेताहरु जगन्नाथ नेपाल, रामप्रसाद अधिकारी, देवप्रसाद त्रिपाठी,नरेश खतिवडा,रमेश आचार्य लगायत जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।
विगतमा भावनामा बगेर गलत निर्णयमा पुगिएछ भन्ने महसुस भएको र एकताले मात्रै बलियो राजनीतिक भविष्य सुनिश्चित गर्न सक्छ भन्ने विश्वासको साथ एमालेमै फर्किएको समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद अर्यालले बताए ।एमालेको नेतृत्वमा मात्रै वामपन्थीको एकता सम्भव भएको अर्यालको भनाइ थियो ।




















