काठमाडौं — नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

शनिबार काठमाडौामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको माहोल शान्त हुने दाबी गरे । एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको भन्दै उनले आफूले एमालेमै रहँदा प्रश्न गरेको त्यसलाई लिएर प्रतिशोध साधिएको दाबी गरे। भुसालले ओलीले एमाले नेतृत्व नछोडे नेताहरुको उकुसमुकुस अझै बढ्ने बताए। ओलीले पार्टीको नेतृत्वमा रहेर गरेका निर्णय, निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा लिएका निर्णयहरु असफल भइसकेको भुसालको भनाइ छ।

नेता भीम रावललाई पार्टीले निष्कासन गरेको विषयमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै भुसालले एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको बताए । 

‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो,’ उनले भने, ‘नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ। त्यतिखेर व्यक्तिगत बिरोध, प्रतिशोधका रुपमा लिइयो। कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन्। एक खालका मान्छे उहाँका शत्रु हुन्, अर्का खालका मान्छे चाकर हुन्। जसले चाकरी गर्दैन र त्यो शत्रु होइन, शत्रु होइन भने त्यसले चाकरी गर्छ। उहाँको आम रुपमा संसारलाई हेर्ने दृष्टिकोण त्यस्तो छ।’

भुसालले अगाडि भने, ‘भीम रावलले चाकरी गरेनन्, यद्यपी त्यहाँ बसेका सबैले चाकरी गर्दछन्, यस्तो पनि नठान्नुस्। नेकपा एमाले हामीले लडेर आफैँ बनाएको पार्टी हो। त्यहाँ तमाम साथीहरु छन्। अहिले उकुसमुकुसमा छन्। भनेका छैनन्। यो घटना जसरी घट्दैछ। यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ। कमरेड ओलीको यो प्रयोग असफल भइसकेको छ। उहाँको प्रयोग असफल भएको छ। निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भयो। उहाँले त्यहाँ छोड्नु उहाँका लागि र हाम्रो लोकतन्त्रका लागि सबैभन्दा राम्रो कुरा हुन्थ्यो।’

भुसालले नेता भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान समेत गरे।  ‘भीम रावलजीको कुरा रह्यो। उहाँले के गर्नुहुन्छ भन्न सक्दिनँ। नेपाल पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो। म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु।’ उनले भने ।