उदयपुर—नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा एमाले केपी शर्मा ओली नेतृत्वकाे सरकार ढले अफुहरुकाे लागि राम्रै हुने बताएका छन् । खतिवडाले एमाले नेतृत्वको सरकारको आयु धेरै लामो नरहेको बताउँदै छिट्टै ढल्ने बताउँदै भने, ‘ओली सरकारको आयु मैले देखेको छैन ।’
उनले केपी शर्मा ओलीको आफ्नै वितण्डाले, सर्वसत्तावादी चरित्रले यो सरकार ढल्ने छेउमा पुगेको दाबी गरेका छन् । उनले भने, ‘हिजो अस्ती हाम्रो पार्टी फुटाउन अध्यादेश ल्याउन खोज्ने ओलीको सरकार ढले हाम्रो लागि राम्रै हुन्छ ।’
शनिबार उदयपुरको कटारीमा पार्टीको संघीय निर्वाचन क्षेत्र नं २ मा अगुवा कार्यकर्ता भेलामा बोल्दै खतिवडाले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टी एमाले अब ‘बा’को पार्टी भएको टिप्पणी पनि गरेका छन् ।
उपाध्यक्ष खतिवडाले भने, ‘नेकपा एमाले ‘बा’को पार्टी हो । सबैले ‘बा’को पार्टी भन्छन् । बाको पार्टी भित्रभित्रै धरमर–धरमर गर्दै छ । भीम रावललगायत तीनजना नेतालाई कारवाही गरेको घटनाले अहिले ओलीको पार्टीको जग नै हल्लिन लागेको छ ।’ रावललाई कारवाही गर्दा मनमा दुःख लागेको उल्लेख गर्दै उनले भने, ‘भीम रावललाई कारवाही गर्यो ठिकै गर्यो। त्यो पार्टीमा बस्नै नहुने थियो । उहाँ बसिरहनु भएको थियो ।’
अबका दिनमा नेकपा एमाले घट्ने क्रममा रहेको बताउँदै उनले एकीकृत समाजवादी बढ्ने दाबी गरे । उनले भने, ‘एमालेमा गुटबन्दी चरम ढंगले बढेको छ । अहिले केपी ओलीको धाकधम्कीले एमालेका नेताहरु बोल्न नसक्ने अवस्थामा छन् । एमालेमा भित्रभित्रै असन्तुष्टी बढेर गइरहेको छ । तलसम्म यसको असर परेको छ ।’
उनले अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादी एक्लै चुनाव लड्ने उद्घोष पनि गरेका छन् ।




















