पर्सा— पर्साको सखुवा प्रसौँनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल लगायत बिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नेकपा (एमाले)पर्सा जिल्ला कमिटीद्वारा औराहा पञ्चगावामा आइतबार आयोजित बृहत पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्तालाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा थिए । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो पनि एमालेमा प्रवेश गरे । सोही कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकहरूको पनि एमालेमा प्रवेश भएको थियो । 

कार्यक्रममा पर्साबासीका तर्फबाट जिल्लाको क्षेत्र नम्बर ३ का सङ्घीय सांसद एवं  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गरेका थिए  ।

कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, हरि उप्रेती, प्रभु हजारा, मधेस प्रदेश सरकारका  भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललगायत सहभागीता रहेको थियो ।